सिमरा,सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले सिमरा कलेजलाई २० लाख रकम उपलब्ध गराएको छ । सिमरा कलेजको अक्षय कोषमा जम्मा हुने गरी खानेपानी समितिले बुधवार उक्त रकम उपलब्ध गराएको हो ।
समितिका अध्यक्ष कासिम हुसेनले कार्यालयमा आयोजित एक कार्यक्रमबीच कलेज संचालक समितिका अध्यक्ष अच्युत सिटौलालाई सो रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै अध्यक्ष हुसेनले सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक विकासका निम्ति कलेजलाई रकम उपलब्ध गराएको बताउनुभयो ।
खानेपानीको कार्यसमितिको बैठकले कलेजलाई रकम उपलब्ध गराउने निर्णय गरेको थियो । समितिको निर्णयअनुसार रकम उपलब्ध गराएको भन्दै हुसेनले यसबाट कलेजको शैक्षिक विकासको मद्दत पुग्ने विश्वस्त रहेको जनाउनुभयो ।
कार्यक्रममा कलेजका अध्यक्ष सिटौलाले शिक्षा क्षेत्रको लागि समितिले गरेको सहयोग अत्यन्तै प्रशंसायोग्य रहेको बताउनुभयो । सिमरा कलेजका प्रमुख शालिकराम अधिकारीले समितिबाट प्राप्त सहयोगबाट कलेज संचालनमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा समितिका कोषाध्यक्ष मधु पौडेल, सिमरा कलेका व्यवस्थापन समितिका पूर्वअध्यक्ष मदनबहादुर क्षेत्री, माधव त्रिपाठी, गीता शर्मा, मधुकर अधिकारीलगायतको उपस्थिति रहेको थियो ।


















