कृष्ण मोहन साह
सेढवा,क्याप्टिभेटिङ इन्टर नेसनल फाउण्डेशनको सहयोगमा आसमान नेपालको आयोजनामा संचालित ‘बालिकालाई पछाडि नपारौ’ परियोजना अन्तर्गत जिराभावानी गाउँपालिकामा संचालन भएको द्रुत सिकाइ केन्द्रहरूको मंगलवार अनुगमन गरिएको छ ।अनुगमनको क्रममा जिराभावानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले केन्द्रमा अध्ययन गरिरहेका किशोरीहरुलाई विद्यालय भर्ना हुन सुझाव दिनुभएको थियो ।उहाँले पालिकामा रहेका विद्यालय छोडेका किशोरीहरुलाई आसमान नेपालले ९ महिना पठनपाठन गराइ उनीहरुको पठान पाठन सुचारु गराएकोमा प्रसंसा गर्नुभएको थियो । उहाँले पुनः विद्यालय पढ्न जाने किशोरीहरुलाई पालिकाबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।केन्द्रमा पढिरहेका किशोरीहरुले किताब पढन, सामान्य हिसाव गर्न, जीवन उपयोगी सीप, चित्र बनाउन, बालबिवाह गर्दा हुने बेफाइदा बारे बताउन, बालश्रम, महिला हिंसालगायतका विषयहरुको बारेमा सिकेका कुराहरु अनुगमन टोलीलाई पनि जानकारी गराएका थिए ।
अनुगमन टोलीमा शिक्षा शाखा प्रमुख शिवराज फुयाँल, संतोष फुयाँल, वडा अध्यक्षहरु रामशरण खवास, राजेश्वर दास, वडा सदस्य दसरथ दहैत, प्रमोद चौधरी, श्यामसुन्दर चौधरी, प्रधानाध्यापक खेमराज महतो, कृपासेन्दु चौधरी, पत्रकार कृष्ण मोहन साह, आसमान नेपालका पालिका संयोजक धर्मेन्द्र चौरसिया, लेखापाल मोहमद मंजुरलगायतको उपस्थिति रहेको थियो ।आसमान नेपालले उक्त पालिकामा विद्यालय छोडेका र कहिल्यै पनि विद्यालय नगएका १० देखि १८ वर्ष उमेर समूहका २ सय ४१ जना किशोरीहरुलाई १० वटा केन्द्रमा राखेर ९ कक्षासम्म पठनपाठन गराउने कार्यक्रम गर्दै आइरहेको छ । सोही केन्द्रको मंगलवार अनुगमन गरिएको थियो ।


















