वीरगन्ज,नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य नरेश सर्राफको निधनमा महासंघ पर्सा शाखाले शोक व्यक्त गरेको छ ।
सगरमाथा टेलिभिजनका सम्वादाता तथा राष्ट्र सन्देश अनलाइन मिडियाका सम्पादक पत्रकार सरार्फको ३८ वर्षको अल्पायुमै असमायिक निधन भएको दुःखद् खबरले पत्रकार महासंघ स्तब्ध भएको शोक वक्तव्यमा उल्लेख छ ।
घरमै शारीरिक व्यायम गरिरहेको अवस्थामा अचानक अचेत भई नारायणी अस्पताल पु¥याइएकोमा बिहीवार विहान ८ बजे सर्राफको निधन भएको हो । पर्सामा सक्रिय पत्रकारिता गर्दै आएका सरार्फको निधनले सञ्चार क्षेत्रमा अपुरणीय क्षति भएको महासंघ पर्साका सचिव भुषण यादवद्वारा जारी शोक वक्तव्यमा भनिएको छ ।
पर्सेली पत्रकारिता क्षेत्रले एक जुझारु तथा उर्जावान युवा पत्रकार गुमाएको हुँदा उनको निधनले पत्रकार जगतमा शोक छाएको सचिव यादवले बताउनुभयो ।
सरार्फप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै महासंघ पर्साले दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना र गहिरो समवेदना पनि प्रकट गरेको छ ।















