वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाका नगर प्रहरीले पावर हाउस नजिक रहेको प्राइम अटो ट्रेडर्सका मालिक संदिप गुप्तामाथि हातपात गरेका छन्। गुप्ताले महानगरपालिकाको ट्रयाक्टरमा फोहोर फाल्न आफ्नै अफिसको जमिनमा राखेको फोहोरको विषयमा नगर प्रहरीले बिना कारण आफूमाथि ज्यादती गरेको बताउनुभएको छ ।
गुप्ताले केही नगर प्रहरीहरु आफ्नो अफिसको क्याबिनमा गुण्डागर्दी शैलीमा प्रवेश गरी जबरजस्ती ५ हजार रुपैयाको चिट काट्न लगाएको आरोप लगाउनुभयो । उहाँले महानगरपालिकाले कुन नीति नियमको आधारमा यस्तो कदम चालेको भनेर प्रश्न गरेपछि नगर प्रहरीले उनलाई अपहरण शैलीमा वीरगञ्ज महानगरपालिका कार्यालय लगेको बताउनुभएको छ । गुप्ताले यस घटनाले महानगरमा गुण्डा राज आएको महसुस भएको सुनाउनुभयो ।गुप्ताले भन्नुभयो, “के हामी अपराधी नै हौँ र ? व्यापार व्यवसाय गर्नु अपराध हो ? मनलाग्दी जरिवाना काट्ने, भिडियो बनाउने र त्यसलाई सार्वजनिक गर्ने कुन नियममा लेखिएको छ ?“ उहाँले बारम्बार गल्ती गरेको भए नियम अनुसार जरिवाना काट्ने अधिकार रहेको बताउनुभयो, तर भिडियो बनाएर चरित्रहत्या गर्ने अधिकार महानगरलाई कसले दियो भनेर प्रश्न गर्नुभयो ।
नगर प्रहरीले गुप्तालाई फाइन मात्र काटेनन्, उहाँको भिडियो बनाई सर्वजनिक गर्ने धम्की दिएपछि गुप्ता आक्रोशित बन्नुभएको थियो । गुप्ताले नगर सरसफाइको जिम्मा पाएका नगर प्रहरीले मिना बजार, बिपी पार्क र फुटपाथमा ध्यान केन्द्रित गर्नुको साटो आम व्यापारीलाई तर्साउने र सस्तो लोकप्रियता कमाउने दाउमा लागेको आरोप लगाउनुभएको छ ।
सहरको मुख्य बजार मिना बजारमा व्यापारीहरुले सडक नै अवरोध गरी व्यापार व्यवसाय संचालन गर्दै आएका छन्। त्यस्तै, बिपी पार्कमा पनि तरकारी तथा फलफूल व्यवसायसँग मासिक लाखौं रकम उठाउँदै गरेको आरोप नगर प्रहरीमाथि लाग्दै आएको छ।


















