बारा,आगामी ४ मंसिरमा हुने निर्वाचनमा बाराको प्रदेश सभा १ (क) मा नेकपा एमालेबाट त्रिलोकीप्रसाद चौधरी, लोकतान्त्रिक बाम गठबन्धनबाट कांग्रेसका रमेश दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार, स्वतन्त्रका एकबहादुर क्षेष्ठ र शिवनारायण थारुबीच पाँच पक्षीय प्रतिस्पर्धा हुने पक्का छ ।
२०७४ सालमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यस क्षेत्रमा एमालेका त्रिलेकीले जित्नुभएको थियो । गत निर्वाचनमा एमालेको साथमा रहेको माओवादी केन्द्र कांग्रेससंगको गठबन्धनमा छ भने एमालेलाई जसपाको साथ छ ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले प्राप्त गरेको मतका आधार हेर्दा माओवादी केन्द्र अलग रहदा पनि प्रदेश सभा क्षेत्रमा एमाले बलियो देखिएको छ भने जसपा र एमाले एक ठाउँमा हुदाँ एमाले भन बलियो देखिएको हो ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले पाएको मत हेर्ने हो भने एमाले सत्ता गठबन्धनको भन्दा करिब १ हजार मतले अगाडि देखिन्छ । स्थानीय निर्वाचनको मत परिणामलाई तुलना गर्दा बाराको प्रदेशसभा १ (क) मा सत्ता गठबन्धनलाई जितको लागि निकै चुनौती देखिएको छ ।
यता नेकपा एमालेका मधेश प्रदेश सदस्य समेत रहेका एकबहादुर क्षेष्ठले एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवरका रुपमा हुनुहुन्छ । एमालेले क्षेत्रीय सन्तुलन नमिलाएर टिकट दिएको भन्दै श्रेष्ठ आफू निजगढ क्षेत्रको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा आएको बताउनुहुन्छ ।
यस्तै अर्का नेकपा एमालेका शिवनारायण थारुले पनि एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवरी दिनुभएको छ । उहाँले आफु यस क्षेत्रको विकासको निम्ति रणनीतिक, योजना र मनोवैज्ञानिक रुपमा तयार रहेको बताउनुभएको छ ।
यता सत्ता गठबन्धन दलबाट कांग्रेसका रमेश दंगाल अर्का सशक्त प्रतिस्पधि हुनुहुन्छ । निकै लामो समय काठमाडौंमा बसेर व्यापार गर्दै आउनुभएका दंगालले कांग्रेसका अर्का नेता शम्भुबहादुर बुढाथोकी र सुरेशकुमार खनालको मुख्य दाबीको बाबजुद बारा क्षेत्र नं. १ (क) मा प्रदेश सभाको प्रत्यक्षतर्फ टिकट हात पार्नुभएको थियो ।
मतदातासंग घुलमिल नरहेका दंगाल कांग्रेससंगै रहेको सत्तारुढ गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र लोसपाका नेता–कार्यकर्ताको साथमा चुनावमा होमिनुभएको छ । उहाँले आफुसंग बिकासको मास्टर प्लान रहेको बताउनुभएको छ ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी साह कलवार अर्का बलिया प्रतिस्पर्धीको रुपमा देखापर्नुभएको छ । साहले यस क्षेत्रका व्यवसायी र मधेसी मुलका मतदातालाई आकर्षित गर्ने देखिएको छ ।
यस्तै एमालेका त्रीलोकीप्रसाद चौधरी अर्का बलिया प्रतिस्पर्धी हुनुहुन्छ । यसअघि समेत बिजयी चौधरी पुनः जित हात पार्नेमा ढुक्क रहेको बताउनुहुन्छ । उहाँले शिक्षाको समस्यालाई व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षा बनाउन पूर्वाधार विकासमा प्राथमिकता दिँदै युवाहरू ईमान्दर, सीपयुक्त र स्वास्थ्य सेवाको सुधारमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यस प्रदेशसभामा ४ स्वतन्त्रसहित १० जना चुनावी मैदानमा रहेका छन ।