वीरगन्ज,पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार निकम्मा साबित भइसकेको बताउनुभएको छ । बिहीबार पर्साको जगरनाथपुर गाँउपालिकामा आयोजित आमसभा एंव बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सकार निकम्मा साबित भइसकेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकार जनताले नभइ अदालतको परमादेशबाट बनेको सरकार भएकाले देश र जनतासंग यो सरकारले कुनै मतलब नराखेको बताउनुभयो ।

देशी विदेशी शक्तिले जालझेल गरि विकासप्रेमी एमालेको सरकार ढालेर आफना केहि निहित स्वार्थ पूर्तिका लागि अहिलेको गठबन्धन सरकार बनाएको ओलीले बताउनुभयो । एमाले देशको विकासका लागि बनेको पार्टी भएको जिकिर गर्दै ओलीले देशको विकास एमाले बिना अन्य पार्टीबाट शंभव नभएको पनि बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार बन्ने दाबी गर्नुभयो । उहाँले पनि एमालेको नेतृत्वमा मात्रै देशको विकास हुने जिकिर गर्नुभयो । कार्यक्रममा पर्साको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीम मिया अन्सारीसहितका विभिन्न पार्टी परित्याग गरी हजारौं नेता÷कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए ।

एमाले प्रवेश गर्नुृभएका गाउँपालिका अध्यक्ष अन्सारी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेर गाँउपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसअघि उहाँ नेपाली काँग्रेसमा आबद्ध रहेर राजनीति गर्दै आउनुभएको थियो । बिहीबारको कार्यक्रममा गाँउपालिका अध्यक्ष अन्सारीको नेतृत्वमा मात्रै पर्साका ५ हजार र अन्य जिल्लाका ५ हजार गरि १० हजार व्याक्ति एमालेमा प्रवेश गरेको एमाले पर्साका सचिव एंव छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज गुप्ताले दाबी गर्नुभयो ।

एमाले पर्साका अध्यक्ष प्रभु हजराको अध्यक्षतामा भएको आमसभालाई एमाले सचिव रघुवीर महासेठ, पोलिटब्यूरो सदस्यहरु प्रभु साह, लिला श्रेष्ठ, सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल, जुली महतो, केन्द्रीय सदस्य जयप्रकाश थारु, निर्मला देवकोटा, राजकुमार गुप्ता, प्रधुमन चौहान, बिचारी यादव, पटेर्लवासुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी, जगरनाथपुर गाबिसका पूर्वअध्यक्ष मोसालिम मियाँलगायत नेताहरुको सहभागिता रहेका थियो । कार्यक्रम संचालक नेकपा एमाले का जिल्ला सचिव मनोज कुमार गुप्ता ले संचालन गर्नु भएको थियोे । कार्यक्रममा अध्यक्ष ओलीलाई नवप्रवेशी अन्सारीले १ सय ५१ किलोको माला लगाएर स्वागत गरेका थिए । आमसभामा पर्सादेखि सप्तरीसम्म प्रदेश २ का आठ वटै जिल्लाका एमाले नेता कार्यकर्ताहरु सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here