नरेश गुप्ता
बरियारपुर,कलैयास्थित प्रादेशिक अस्पतालमा सुविधा सम्पन्न आईसियु वार्ड सन्चालनमा आएको छ ।
मधेस प्रदेश अन्तर्गतको एक मात्र बाराको कलैयामा रहेको प्रादेशिक अस्पतालमा एनओसि सेवा, सुरक्षित गर्भपतन, शल्यक्रिया, ओपिडि सेवा, हाडजोर्नी, अर्थोसंगै सुविधा सम्पन्न आईसियु सेवा पनि संचालनमा आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट गौरव महतोले जानकारी दिनुभयो ।
आईसियु आर्डमा ८ वटा बेड राखिएको र अस्पतालका प्रमुख डा. महतोको नेतृत्वमा अस्पताल विकास समितिमार्फत नियक्त स्वास्थ्यकर्मीहरु बिरामीको सेवामा डा. विकेशकुमार पाण्डेय, ओपिडी सहयोगी सुनिल उपाध्याय, रुद्रदेव पाठक समेतको टोली अहोरात्र खटिदै आएको छ ।
प्रादेशिक अस्पताल कलैयाले बीमा शाखा र इमर्जेन्सी शाखाको काम पनि व्यवस्थित पार्दै आएको छ । अस्पतालले आईसियु सेवा संचालनमा ल्याएपछि अब बिरामीहरुलाई बाहिरका अस्पतालमा रेफर गर्नु पर्ने अवस्थाको अन्त भएको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
कलैया प्रादेशिक अस्पतालले प्रदान गर्दै आएको सेवा सुविधामा सुधार गरेपछि उपचार गर्न आउने बिरामीहरुको चाँप पनि बढेको छ । प्रादेशिक अस्पताल कलैयालाई थप सुबिधा सम्पन्न बनाउने क्रममा बिरामीहरुको लागि कुरुवाघर, क्यानटिन, चिकित्सकहरुको डियुटीरुमको लागि गार्डेनसहितको स्वच्छ वातावरणको लागि ईस्टिमेट तयार पारिएको र सोको लागि संघीय सरकारको लागि स्वास्थ्य मन्त्रालयमा परिपत्र गरिएको मेसु महतोले जानकारी दिनुभयो ।