कलैया,पूर्व–पश्चिम राजमार्गअन्तर्गत मधेस प्रदेशको पूर्वमा सिरहादेखि पश्चिममा बाराको पथलैयासम्म चार लेनको सडक निर्माणको काम भइरहेको छ । सडक विस्तारको क्रममा ३० हजार ८७१ सानाठूला रूख कटान हुने भएका भने कटान गरिएका मध्ये प्रतिरूख १० ओटाका दरले ३ लाख ८ हजार २७० ओटा बिरुवा रोपिने पनि सडक विभागले जनाएको छ ।विसं २०२१ मा तत्कालीन सोभियत सङ्घको सहयोगमा निर्माण भएको दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई अहिले विश्व बैङ्कको लगानीमा स्तर वृद्धि गरेर चार लेनको बनाउने काम शुरु भएको हो ।विश्व बैङ्कले दिन लागेको रू. ८८ अर्ब ऋण सहयोगबाट दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई चार लेनको सडक निर्माण गर्न शुरु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत एक सय ३० किलोमिटर सडकलाई पथलैया–ढल्के र ढल्के–कमला गरी दुई प्याकेजमा विभाजन गरेर अहिले सडकको साइड क्लियर गर्नेलगायत काम शुरु गरिएको पथलैया–ढल्के–कमला सडक योजना प्रमुख दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस योजनाअन्तर्गत निर्माण हुने १३० किलोमिटर सडक जङ्गल क्षेत्रमा २७ मिटर चौडा र सहरी क्षेत्रमा ५० मिटरको चौडा रहनेछ ।सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखाले पथलैया, निजगढ, चन्द्रनिगाहपुरलगायत सात स्थानमा सार्वजनिक सुनुवाइ गर्नाका साथै स्थानीयवासीको राय, सुझावसमेत लिएर काम शुरु गरेको उहाँले बताउनुभयो । बस्ती र सहरी क्षेत्रमा ५० मिटर लिइने जग्गामा चार लेनको सडकसँगै नाला, सडकपेटीसहित साइकल लेनसमेत निर्माण गर्ने गरी कार्यहरू शुरु भइसकेको र अन्य स्थानहरूमा सडकको दुवैतर्फ सडक निर्माण गरिने आयोजनाले जनाएको छ ।एउटा लेन तीन दशमलव पाँच मिटरको हुने, सडकको दुवै छेउमा रूखबिरुवा तथा फूल रोपिने र दायाँबायाँ साढे दुई मिटर अतिरिक्त कालोपत्र गर्ने योजना रहेको डीपीआरमा उल्लेख छ । सडकमा गुड्दै गरेको सवारी साधन बिग्रिए त्यसलाई पार्किङ गर्न सक्ने व्यवस्थासमेत गरिने आयोजना प्रमुख पाण्डेले बताउनुभयो ।यस सडकखण्डमा रहेको बागमती र कमला नदीको पुलबाहेक सानाठूला गरेर ७२ ओटा पुलहरू पनि निर्माण हुनेछन् । साइकल लेन र फुटपाथ छोपिने गरी नाला रहने उक्त सडकको सब बेस २० सेन्टिमिटर र माथिल्लो फिनिसिङ लेबल १४ सेन्टिमिटर रहने डीपीआरमा उल्लेख छ । हाल सञ्चालनमा रहेको कज वे हटाएर आवश्यक स्थानमा बक्स कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ ।पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेकाले सडकबाट वारपार गर्ने जङ्गली जनावरका लागि ‘एनिमल पास ब्रिज’ पनि निर्माण गर्ने योजना सडक विभागको छ । विद्युत्, पानी, नेटवर्कको पाइपलाइन र वातावरण संरक्षणको विविध पक्षमा अध्ययन गरी डिजाइन तयार गरिएको आयोजनाका प्राविधिकहरूको भनाइ थियो । सडक सीमाभित्रको संरचना हटाउने, रूख कटान गर्ने, पोल सार्ने, कजवे बनाउनेलगायत काम सडक विभागले अगाडि बढाइसकेको छ ।यस राजमार्ग पथलैयादेखि कमला खोलासम्मको १३० मिटर लामो दुई लेनको सडकलाई स्तर वृद्धि गरेर चार लेनको बनाउन ठेक्का लगाइएको सडक विभाग वैदेशिक सहायता महाशाखाका एसडीई बन्दना आचार्यले बताउनुभयो । उहाँका अनुसार विश्व बैङ्कको ऋण सहयोगमा सडकलाई चार लेन बनाउन लागिएको हो । चार लेन सडकका रूपमा विकास गर्न लागिएको यस राजमार्गमा लामो तथा छोटो दूरीका गरी दैनिक हजारौं संख्यामा सवारी साधन आवतजावत हुने गर्छन् । करीब ६० वर्षपहिला निर्माण गरिएको पूर्व–पश्चिम राजमार्ग सवारी साधनको चापले साँघुरो हुनाका साथै दुर्घटनाको कारण बर्सेनि ठूलो संख्यामा भइरहेको मानवीय क्षति कम गराउन वर्षौंदेखि विज्ञहरूले सडक चौडा पार्ने सुझाव दिँदै आएकाले अहिले राजमार्ग विस्तारको काम शुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here