वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित भाटभटेनी सुपरमार्केटमा सञ्चालित अतिथि भेजिटेरियन रेस्टुरेन्ट र शाह होल्डिङ्स प्रालिमा म्याद गुज्रेका खाद्यान्न सामग्री भेटिएको महानगरका खाद्य अनुसन्धान अधिकृत विपिनलाल दासले जानकारी दिए ।दासको नेतृत्वामा गएको अनुगमन टोलीले म्याद गुज्रेका खाद्यान्न बेचेर आम सर्वसाधारणको स्वस्थ्यसँग खेलबाड गर्ने अतिथि भेजिटेरियन रेस्टुरेन्ट र शाह होल्डिङ्स प्रालिलाई जनही ५/५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटको माथिल्लो तलामा रहेका ती रेस्टुरेन्टमा म्याद गुज्रेका मःम, चाउमिन, मासु, अमृत तेल, मैदा, बेसन लगायतका सामग्री फेला परेका थिए ।म्याद गुज्रेका ४ बोरा मैदा, २ प्याकेट कुखुराको मासु, ४ प्याकेट चाउमिन, ५ सय ग्राम गोल्ड बेसन, ६ प्याकेट अमृत तेल र एक प्याकेट मन्चुरियन नष्ट गरिएको अनुगमनमा सहभागी उपभोक्ता हित मञ्चका अध्यक्ष अजित भुजेलले जानकारी दिए ।


















