वीरगंज ६ कार्तिक ।
मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले आयुर्वेद उपचार पद्धति विश्वकै पुरानो उपचार पद्धति बताउनुभएको छ । धन्वन्तरी जयन्तीको अवसरमा आज वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको आयुर्वेद उपचारसम्बन्धी बिचार गोष्ठीको उद्घाटन गर्दै प्रदेश प्रमुख मिश्रले प्रत्येक घरको भान्सादेखि खेतबारीमा आयुर्वेदिक औषधीहरूको प्रयोग भइरहेको तर यसको प्रचार प्रसारको कमीको कारण आम जनता जागृत नभएको बताउनुभयो ।

प्रदेश प्रमुख मिश्रले जडीबुटीको प्रचार प्रसारको जिम्मा राज्यले लिनुपर्ने बताउंदै आयुर्वेदिक उपचार पद्धतिलाई राष्ट्रियकरण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । भारतीय महावाणिज्य दूतावासले बर्षैनी विभिन्न समयमा योगा, आयुर्वेद लगायत अन्य विषयमा छलफल गर्ने गरेकोप्रति उहांले धन्यवाद दिनुभयो ।

कार्यक्रममा वीरगञ्ज वाणिज्य दूतावासका वाणिज्य दूत नितेश कुमारले भारत सरकारले आजैका दिन भारत लगायत विश्वभरि रहेका दूतावास मार्फत आयुर्वेदको चेतना फैलाउने कार्य गरिरहेको जानकारी दिनुभयो । २०१३ देखि भारत सरकार लगायत भारतमा रहेका अन्य मुलुकका प्रतिनिधि, विदेश मन्त्रालय, उच्च पदस्थ अधिकारीको प्रत्यक्ष सहभागितामा आयुर्वेदको प्रचार प्रसारको लागि काम गर्दै आएको उहांले बताउनुभयो ।

कार्यक्रममा डा.सूचित शर्मा, डा. प्रभार मनु, डा. मनिस सिंह र राकेश सिंहले आयुर्वेद उपचार पद्धति उपयुक्त हुने जानकारी गराउनुभएको थियो । कार्यक्रममा राजनीतिक दल, सुरक्षाकर्मी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply