वीरगन्ज,पर्साको पटेर्वासुगौली गाउँपालिका ५, नचुटामामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा लागूऔषध दुव्र्यसन विरुद्धको कार्यक्रम सम्पन्न भएको छ । पटेर्वासुगौली गाउँपालिका र सानो पाइलाको संयुक्त आयोजनामा सुरु भएको एक्शन फर ड्रग फ्रि कम्युनिटी नामक अभियान अन्तर्गत निचुटामा सो कार्यक्रम सम्पन्न भएको हो ।हरेक वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेत गराउने उद्देश्यका साथ अभियान सुरु गरिएको हो ।आइतबार सम्पन्न भएको कार्यक्रममा सामुदायिक पुनस्र्थापना केन्द्रका कार्यक्रम संयोजक राजकुमार तामाङ्ग र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले सहभागी विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन र यसले पार्ने नकारात्मक प्रभावका विषयमा प्रशिक्षण दिनुभएको थियो ।करिब १ सय ५० जना विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको सत्रमा विद्यार्थीहरुले प्रशिक्षक द्वयले समेट्नु भएका विषय वस्तुमा जिज्ञासासमेत प्रकट गरेका थिए ।कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिनेश चौधरीले लागूऔषध जस्तो विकराल समस्याको समाधानको लागि सबैको साथ अनिवार्य रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई यस अभियानमा जोडिन आह्वान गर्नुभयो । गाउँपालिका क्षेत्रभित्र व्याप्त रहेका समस्याहरुको समाधानका लागि गाउँपालिका सदैव प्रयासरत रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका चौधरीले विद्यार्थीहरुलाई असफलताबाट नडराउन अभिप्रेरितसमेत गर्नुभयो । “जीवनमा असफलता आइरहन्छन्, तर, हिम्मत नहारेर प्रयास गरिरहनु नै सफलताको पहिलो खुड्किलो हो ।” उहाँले भन्नुभयो, “हतास नभएर लक्ष्यमा सदैव अडिग रहनुहो ।” विद्यार्थीहरुमा विद्यालय वा समुदायमा आइपर्ने कुनै प्रकारको समस्याको लागि गाउँपालिका सदैव तत्पर रहने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।विशेष गरी विद्यालय पढ्ने उमेर समूहका युवाहरु लागूऔषधको दलदलमा फस्ने सम्भावना हुने प्रतिचिन्ता व्यक्त गर्दै गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले सही मार्गमा हिँड्नका लागि सबैले प्रेरित गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो । भविष्यको कर्णधारको रुपमा रहेका बालबालिकाहरु अनाहकैमा लागूऔषधको कुलतमा फस्ने गरेको तर्फ सचेत गराउनुहुँदै उहाँले आफ्नो लक्ष्यप्रति अडिग रहन विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । “लागूऔषध दुव्र्यसन जस्तो विकराल समस्याको समाधानको लागि सबैको सहयोग चाहिएको छ, आजको कार्यक्रमबाट तपाईहरुले पाउनुहुने सन्देश समुदायसम्म पुर्याउन गाउँपलिकालाई सहयोग गर्नुहोस ।” उपाध्यक्ष महतोले भन्नुभयो ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम घिमिरे, स्थानीय समाजसेवी जीतु चौधरी लगायतको उपस्थिति थियो । अभियान प्रहरी–समुदाय साझेदारीमा सञ्चालित छ ।

Leave a Reply