निजगढ,निजगढका किसानले दशैंपछि मात्रै केरा खेतीमा भएको क्षतिको बिमा रकम पाउने भएका छन ।
जिल्ला प्रशासन कार्यालय बारामा शुक्रवार दिउसो भएको छलफलमा एभरेष्ट हिमायलयन इन्स्योरेन्स कम्पनी दशैंपछि र तिहार अघि केरा बीमाको रकम किसानलाई उपलब्ध गराउन सहमत भएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा भएको छलफलमा एभरेष्ट हिमायलयन इन्स्योरेन्स कम्पनीका प्रतिनिधिहरुले तिहारअघि नै बीमाबापतको रकम उपलब्ध गराउन लिखित रुपमा सहमतिजनाएको निजगढ ९ का किसान साधुराम खरेलले जानकारी दिनुभयो । सहमति अनुसार रकम उपलब्ध नगराएको खण्डमा कम्पनीमाथि कानुनअनुसार कारबाही गरिने पनि सहमति पत्रमा उल्लेख गरिएको खरेलले बताउनुभयो । ‘सहमति अनुसार तोकिएको समय सीमाभित्र भुक्तानी गराउन पहल गर्नेछौं, सहमति पत्रमा लेखिएको छ, अन्यथा भएमा कानुन बामोजिम कानुनी प्रकृया अघि बढाएमा कुनै आपत्ति छैन भनी सहमतिको कागज गरिन्छ ।’
सहमति पत्रमा प्रमुख जिल्ला अधिकारी कटुवालसहित जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, बीमा कम्पनी वीरगन्जका शाखा प्रमुख हरिगोपाल श्रेष्ठ, सिमरा शाखा प्रमुख श्रीराम रेग्मी, केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढका अध्यक्ष एकबहादुर श्रेष्ठसहित किसानहरुले हस्ताक्षर गरेका छन ।
यसअघि किसानले निजगढस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रवार बिहान आधा घण्टा चक्काजाम गरेपछि प्रमुख जिल्ला अधिकारी कटुवालले किसान र बीमा कम्पनीका प्रमुखहरुलाई बार्ताकोलागि जिल्ला प्रशासन कार्यालय कलैयामा बोलाउनुभएको थियो । बिमा रकम माग गर्दै बुधवार सिमरास्थित शाखा कार्यालयमा किसानले लगाएको ताला कर्मचारीहरुले बिहीवार एकतर्फी रुपमातोडेपछि विरोधमा किसानहरुले राजमार्गमा बिहान १० बजेबाट आधा घण्टा चक्काजाम गरेका थिए ।
गत बैशाखको दोस्रो साता आएको हुरीले केराको बोट ढालेर क्षति गरेपछिसबै प्रकृया पुरा गरेर बीमा कम्पनीमा दाबी गरिएको रकम नपाएपछि निजगढका किसान आन्दोलित हुदै आएका छन ।
पटकपटक माग गर्दा पनि नपाएपछि मार्कामा परेका किसानहरुको एउटा टोली एक साताअघि रकम माग गर्दै काठमाण्डौं पुगेको थियो । टोलीले काठमाण्डौंमा कृषिमन्त्री, कृषि सचिव र बीमा समितिका पदाधिकारीहरुलाई भेटेर बीमा रकम माग गरेको थियो ।
बीमा कम्पनीबाट निजगढका किसानले करिव ६ करोड रकम भुक्तानी लिन बाँकी छ । संझौताअनुसार बीमा कम्पनीले प्रतिकठ्ठा केरा क्षति भएका किसानलाई प्रतिकठ्ठा १४ हजारदेखि १७ हजार रुपैयासम्म क्षतिपूर्ति दिनुपर्ने हुन्छ ।