सागर पण्डित

हरेक देशका पत्रकारको मिसन (लक्ष्य) फरक फरक हुन्छन् । मिसन जे–जस्तो भए पनि पत्रकारिताको मुख्य धर्म र कर्म भने समाजसेवा र सामाजिक उत्तरदायित्व बहन नै हुनुपर्छ भन्ने सैद्धान्तिक मान्यता छ । पत्रकारिताको विकास र भूमिका राजनीतिक प्रणालीमा निर्भर हुने भएकाले सञ्चार जगत्ले जहिले पनि लोकतन्त्र र प्रजातन्त्रको पक्षमा आपूmलाई सशक्त रूपमा अघि बढाउनेगर्छ । किनकि प्रेस फुल्ने र फस्टाउने भनेकै लोकतन्त्रमा हो । लोकतन्त्रबिना पत्रकारिताको कल्पना पनि गर्न सकिँदैन । लोकतन्त्रबाहेकका निरंकुश र एकतन्त्रीय शासन प्रणालीमा प्रेस पूर्णरूपमा संकुचनमा पर्छ । प्रेसले वास्तविक भूमिका निर्वाह गर्न पाउँदैन, भजनमण्डलीमा रूपान्तरण हुन पुग्छ ।

त्यसैले पनि प्रेस जगत्ले निरंकुश र एकतन्त्रीय शासन व्यवस्थालाई कहिल्यै पनि समर्थन गर्न सक्दैन । विगतमा हामीकहाँ राजनीतिक प्रणाली र शासकीयस्वरूपमा फेरबदल हँुदा प्रेस जगत्मा पनि उतारचढाव आएको हो । राणाकालमा प्रेस यति धेरै संकुचनमा प¥यो कि वास्तविक प्रेसको नामोनिशान भेट्टाउन पनि कठिन थियो । त्यसैगरी, पञ्चायत सिस्टममा पनि प्रेसले धेरै संकट र हन्डर बेहोर्नुप¥यो । प्रेस आतंकित अवस्थामा थियो ।

२००७ सालको प्रजातन्त्रको आगमनसँगै नेपाली प्रेसले फस्टाउने मौका पायो । १० वर्षसम्म प्रेसले निर्धक्कका साथ काम गरिरहेको अवस्थामा एकाएक १ पुष २०१७ सालको राजा महेन्द्रको कदम र पञ्चायती व्यवस्थाको स्थापनासँगै प्रेसले फेरि संकट र आतंक बेहोर्न बाध्य भयो । तर, २०४६ सालको आन्दोलनसँगै स्थापना भएको बहुदलीय व्यवस्थाले फेरि सुसुप्त अवस्थामा पुगेको प्रेसलाई हलक्क बढ्ने अवसर दियो । त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्रको शासनमा आतंकित महसुस गरेको प्रेस जगत्ले २०६२÷६३ को आन्दोलनसँगै स्थापना भएको लोकतान्त्रिक प्रणाली र २०७२ सालमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा मज्जाले फस्टाउने अवसर पाइरहेको छ ।

यस अवधिमा नेपालमा अत्याधिक फस्टाएका क्षेत्रमध्ये प्रेस क्षेत्र अग्रपंक्तिमा पर्छ । हिजोका दिनमा नेपाली प्रेसले लोकतन्त्र र संघीय गणतन्त्रको स्थापना गर्न ठूलो कुर्बानी गरेको यथार्थ सबैसामु छ । २००७ साल होस् कि, २०४६ साल होस् वा २०६२÷६३ को जनआन्दोलन होस् । हरेक आन्दोलनका समयमा नेपाली प्रेसले आफ्नो मिसन (लक्ष्य) लोकतन्त्रको प्राप्तिलाई नै गराएको हो । राजनीतिक दलको आन्दोलनमा प्रेस र सञ्चारकर्मीले प्रत्यक्ष रूपमा सहयोग पु¥याएका हुन् ।

कहाँ कतिखेर स्वार्थको रोटी सेकाउन पाइन्छ भन्ने च्याँखे दाउ थाप्दा नेपाली प्रेस बाटो बिराएको बटुवा जस्तो बन्न पुगेको छ ।

यस अवधिमा लोकतन्त्र स्थापनाका लागि नेपाली प्रेसले लोकतन्त्र र त्यसका लागि प्रत्यक्ष रूपमा लडेका राजनीतिक दलको पक्षमा र निरंकुश शासन स्थापना गर्न खोज्ने तत्कालीन राजाको विपक्षीमा मिसन (लक्ष्यमुखी) पत्रकारिता गरेको कुरालाई गौरवका साथ स्मरण गर्नैपर्छ । तर, प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएपछि नेपाली प्रेस आफंैमा निकै अलमलमा छ । यसले अबको दिनमा आफ्नो मिसन (लक्ष्य) के लिने भनेर गोरेटो तय गर्न सकेको छैन । सबै आ–आफ्नै ताल र सुरमा दौडिरहेका छन् । कहाँ कतिखेर स्वार्थको रोटी सेकाउन पाइन्छ भन्ने च्याँखे दाउ थाप्दा नेपाली प्रेस बाटो बिराएको बटुवा जस्तो बन्न पुगेको छ । मुलुक कुशासनको चपेटामा नराम्ररी फसेको छ, विकास अवरुद्ध छ, समृद्धि केवल नारामा सीमित भएको छ । तर, पनि नेपाली प्रेस त्यसमा पनि आपूmलाई मूलधारको मिडिया भनेर दाबी गर्नेहरूलाई मुलुकको सुशासन, विकास र समृद्धि’दयगत कुनै सरोकार नै देखिँदैन ।

उद्योगका रूपमा विकास भएका भनिएका मिडिया अहिले व्यावसायिक (प्रोफेसनल)भन्दा पनि व्यापारिक (कमर्सियल) बन्न थालेका छन् । पत्रकारिताको मूल मर्म व्यापार होइन, समाज सेवा र सामाजिक उत्तरदायित्व वहन गर्नु हो । तर, नेपाली प्रेसको ठेक्का लिएका र सिन्डिेकेट चलाएर बसेकाले प्रेसको मुख्य कर्म व्यापार बनाएका छन् । समाजसेवा र सामाजिक उत्तरदायित्वलाई उनीहरूले चटक्कै बिर्सन पुगेका छन् । जब प्रेसले सामाजिक उत्तरदायित्व र समाजसेवाको धर्म बिर्सन पुग्छ तब मुलुकमा विभिन्न अराजकता सिर्जना हुन पुग्छ । देश कुशासनमा चुर्लम्म डुब्न पुग्छ फलत विकास र समृद्धि रोकिन्छ । अहिले हाम्रो देशमा यस्तै अवस्था आएको छ । तर, पनि नेपाली प्रेस कानमा तेल हालेर बसिरहेको छ । कुशासनको चक्र चलाउन उद्धतविरुद्ध प्रेसले आगो बाल्न सक्नुपर्ने हो तर प्रेस आफंै निबेको आगो जस्तो भएको छ ।

सैद्धान्तिक रूपमा भन्दा मिडिया र समाज एक अर्काका परिपूरक जस्तै हुन् । समाज बिना मिडिया बाँच्न सक्दैन र मिडिया बिना समाजको गति पनि अघि बढ्न सक्दैन भन्ने सैद्धान्तिक मान्यता छ । तर, यो मान्यता के आज व्यवहारमा लागू हुन सकेको छ त ? नेपालकै परिप्रेक्षमा हेर्ने हो भने पनि अहिलेको अवस्थामा नेपाली समाज रूपान्तरण र त्यहाँका नागरिकको जीवनस्तर उकास्नका लागि नेपाली प्रेसले के गरेको छ त ? जनताले भोग्नुपरेका गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी र सुरक्षाका समस्यालाई नेपाली प्रेसले कति उठान गर्न सकेको छ ? यस्ता समस्याका विषयमा नेपाली प्रेसलाई खासै चासो नभएको जस्तो देखिँदै छ । जसका कारण पनि आमजनता नेपाली प्रेससँगै टाढिँदै जान थालेका छन् ।

जनता प्रेससँग टाढिँदै जानुले पनि यहाँको प्रेस जनमुखी छैन भन्ने देखाउँछ । यदि प्रेसले देशमा भएको कुशासनको चर्को विरोध गर्दै शासकलाई सुशासनमा हिड्न बाध्य पार्थे भने नेपाली प्रेसमाथि आमजनताको विश्वास बढ्थ्यो तर त्यस्तो हुन सकेको छैन । जनता महँगीको मारले थिलथिलो छन् तर प्रेसले यो विषयलाई गम्भीरतापूर्वक उठान गर्न सकिरहेको छैन ।

शासकले संविधानमा भएका नागरिकका दर्जनांै मौलिक हकलाई व्यवहारमा उतार्न पूर्णरूपमा असफल भइरहँदा नेपाली प्रेसले किन यो विषयलाई लगातार उठान गर्न सकिरहेका छैनन् ? राज्यले स्वास्थ्य र शिक्षाका सबालमा आमनागरिकलाई सधंै डसिरहँदा मिडिया किन चुपचाप देखिन्छन् ? यस्ता विषय त हामी मिडियाकर्मीका लागि दैनिक इस्यु बन्नुपर्ने हो तर अह हामीलाई यसमा कुनै मतलब छैन । किनकि जनताका यस्ता एजेन्डा उठाएर के फाइदा हुन्छ र भन्ने सोच मिडियामा देखिन थालिसकेको छ । किनकि माथि नै भनिसकिएको छ यहाँका ठूला ठूला मिडिया समाजिक उत्तरदायित्व र समाजसेवाको मुख्य भावबाट च्यूत भइसकेका छन् ।

नेपाली प्रेस जगत्ले यसलाई गम्भीर समीक्षाको विषय बनाउनुपर्छ । अहिले हेर्ने हो भने प्रायः सबै मिडिया खोजी र अनुसन्धानतर्फ भन्दा पनि घटना अर्कैतर्फ मोडिन पुगेका छन् । जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको सबालमा शासकलाई घच्घच्याउन कुन मिडियाले कतिपटक के–कस्ता अनुसन्धानमूलक सामग्रीहरू दिन सके त ? जनतस्तरबाटै आउन थालेको गम्भीर प्रश्न हो यो ।

प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थहरूको मिलिमतोमा हुने सयौं नीतिगत भ्रष्टाचार खोज्न कुन मिडियाले के–कस्तो अनुसन्धानमूलक टोली गठन गरेर परिचालन गरेको छ त ? उच्च घरानियाको आवरणमा अर्बौ रुपैयाँ राजस्व छली हुँदा ती राजस्व छली गर्ने राजस्वमारालाई कुन मिडियाले कहिले पर्दाफास गर्न सकेको छ त ? जनस्तरबाट उठ्ने यी र यस्तै प्रश्नले हाम्रो प्रेस जगत्लाई घोच्नैपर्ने होइन र ? प्रश्न उठिरहँदा प्रेस जगत् आफैं कुनै जवाफ दिने अवस्थामा देखिँदैन । किनकि त्यस्ता कुतवसँग कुनै न कुनै रूपमा मिडियाका ठेकेदार भनाउदाको उठबस हुने गरेको आरोप पनि जनस्तरबाट लाग्दै आइरहेको छ ।

हिजोको दिनमा लोकतान्त्रिक आन्दोलनमा मिसनका साथ अघि बढेर स्यालुट खाएको नेपाली प्रेस जगत् पछिल्लो दिनमा बदनामीतर्फ उन्मुख छ । अहिले त समाजका अधिकांश सदस्यले मिडिया र मिडियाकर्मीभन्दा नाक खुम्चाउने अवस्थाको सिर्जना हुन पुगेको विषयलाई नेपाली प्रेस जगत्ले कहिल्यै छलफलको विषय बनाउन चाहेको देखिँदैन ।

मिडिया आफंैमा ठूलो शक्ति हो, यसको प्रभावले मुलुकको राजनीतिक र आर्थिक अवस्थालाई नै सुधार गराएर अघि बढाउन नसक्ने होइन तर हामीकहाँ मिडिया आफ्नै र आफ्नै स्वार्थसमूहको हितका लागि मात्रै लागिरहँदा यसले आफ्नो शक्तिलाई गुमाउँदै जान थालेको छ ।

अब नेपाली प्रेस जगत्ले छिटोभन्दा छिटो आफ्नो समीक्षा गर्न जरुरी छ । स्वार्थको गोटी चलाउन छोडेर नेपाली प्रेसले अबको लक्ष्य मुलुकको विकास, समृद्धि र सुशासनलाई बनाउन सक्नुपर्छ । अन्यथा, हिजो लोकतान्त्रिक आन्दोलनमा देखाएको मिसन पत्रकारिताको कुनै अर्थ हुने छैन । विश्वकै उन्नत शासन व्यवस्थाका रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल बनाउन पनि अब मुलुकको सुशासन, विकास र समृद्धिको मार्गमा हिडाउन यहाँका राजनीतिक दल र नेतृत्ववर्गलाई सशक्त दबाब दिनैपर्छ । यसको लागि देश पछिल्लो समयमा किन कुशासनको चक्रमा फस्न पुग्यो ? शासक, नेता, प्रशासक तथा उच्च व्यापारिक घरानाको सेटिङमा देश कसरी बर्बादीतर्फ जाँदै छ ? यसको चुरो कुरा के हो ? नेपाली प्रेसले अब यही प्रश्नबाट मिसन पत्रकारितामार्फत खोजी र अनुसन्धान थाल्नुपर्छ ।

नेपालमा विद्यमान कुशासनको जालो च्यात्न सकेमा नेपाली प्रेसले फेरि एकपटक जनताबाट स्यालुट खाने अवसर पाउनेछ । त्यसैले अब प्रेसले एकपटक आफ्नो मुख्य मिसन (लक्ष्य) मुलुकको सुशासन स्थापना बनाउन सक्नुपर्छ । सुशासन कायम हुन सकेमा विकास र समृद्धिको मार्ग आफंै खुल्छ । त्यसैले प्रेसले विकास, सुशासन र समृद्धिको मिसन चलाउन ढिलाइ गर्नुहुँदैन ।

Leave a Reply