काठमाण्डौं । सपना (नाम परिवर्तन) ले १० वर्षको उमेरमा नै आत्महत्याको प्रयास गरिन् । यद्यपि परिवारले उनलाई बचाए । रिसको आवेगमा आएर उनले त्यस्तो गरेकी थिइन् । उनी २२ वर्ष पुग्दा सडक दुर्घटनामा परिवारका दुई जना सदस्यको एकै पटक ज्यान गयो । सो घटनाका कारण उनीलाई डिप्रेसन भयो । डिप्रेसनसँग जुध्दाजुध्दै उनले दोस्रो पटक आत्महत्याको प्रयास गरिन् ।
दोस्रो पटक पनि परिवार तथा आफन्तको सहयोगमा उनी बचिन् । त्यसपछि उनलाई परामर्श केन्द्रमा पु¥याइयो । लगातारको परामर्श र उपचारपछि अहिले उनी स्वस्थ छिन् । अहिले सपना मानसिक स्वास्थ्यमा समस्या भएर आत्महत्याको सोच बनाइरहेका, आत्महत्याको प्रयास पछि बचेकाहरूको प्रेरणाको स्रोत बनेकी छन् ।
विशाल (नाम परिवर्तन) अध्ययनका लागि विदेश पुगे । अध्ययनमा क्रममा डिप्रेसन भएपछि उनी अध्ययनलाई बीचमै छाडेर नेपाल फर्किए । नेपाल आएपछि उनले औषधि उपचार गर्न सुरु गरे । बाहिर त उनी खुसी नै देखिन्थे तर भित्र उनी हरेक क्षण दुःखी र निराश रहन्थे । विदेश गएपछि आर्थिक रूपमा अझै सबल बन्ने उनले उद्देश्य राखेका थिए । बीचमै पढाइ छाडेर नेपाल फर्किनु परेको पिरले उनलाई सताइरहन्थ्यो । एक दिन उनले छतबाट हाम फाले ।
भाग्यवश उनी बाँचे तर स्पाइनल इन्जुरीका कारण ढाडबाट मुनि शरीरको भाग चलेन । उनी मानसिक लडाइँसँगै शारीरिक लडाइसँग पनि जुध्न बाध्य भए । अनि मात्र जीवनलाई हेर्ने उनको दृष्टिकोणमा परिवर्तन आयो । अब कसरी स्वस्थ हुने चुनौती आफूमा थपिएको महसुस गर्न थाले । उनी भन्छन्, ‘म मात्रै समस्यामा गुज्रिएको रहेनछु । मलाईभन्दा धेरै समस्या, अवरोध, पिडा अरूलाई पनि रहेछ भन्ने महसुस गरेँ । जीवन कति अमूल्य छ भन्ने थाहा नपाएर निराश भई मैले जस्तो गलत बाटो अँगाल्न खोज्ने, त्यस्तै सोच राख्ने, मृत्युको मुखबाट फर्किएका साथीहरूलाई प्रेरणाको स्रोत बन्ने इच्छा ममा जाग्यो ।’
अगाडि आइपर्ने समस्याभन्दा पनि महत्त्वपूर्ण जीवन रहेछ भन्ने थाहा पाइसकेपछि अगाडि बढेको उनले बताए ।
पहिला शारीरिक रूपमा पूर्ण रूप स्वस्थ हुँदाभन्दा अहिले ह्विलचियर बसे पनि पहिलाभन्दा शारीरिक र मानसिक रूप खुसी महसुस गरेको उनले सुनाए ।
मानसिक समस्या भई आत्महत्या गर्ने सोच बनाएकाहरुलाई पहिचान गरी नजिकका आफन्त, साथीसंगी र वरिपरिका मानिसहरूले बचाउन सक्ने मानसिक रोग विशेषज्ञहरू सुनाउँछन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत नसर्ने रोग तथा मानसिक शाखाका प्रमुख डाक्टर फणीन्द्रप्रसाद बरालले समुदायमा आत्महत्यासम्बन्धी धेरै खालका भ्रमलाई यथार्थ र यथार्थलाई भ्रम ठान्ने हुँदा आत्महत्या गर्ने सोच आउने बताउँछन् । आत्महत्या रोकथाम गर्न सकिन्न भन्ने आम धारणा रहे पनि त्यस्ता अधिकांश घटना टार्न सकिने उनको भनाइ छ । डा. बरालका अनुसार आत्महत्या गर्ने प्रायःले त्यसको बारे यथेष्ट सङ्केत दिने गर्छन् । जस्तै, आफन्तहरूलाई धेरै भेट्ने, भेट्ने क्रममा कुरा गर्दा अब अन्तिम हो भन्ने, आफूले लिनु दिनुपर्ने कारोबार मिलाउने, घरपरिवारमा भन्नुपर्ने कुराहरू सदस्यलाई भन्ने जस्ता कुराहरु यसको संकेत हुन सक्ने उनी बताउँछन् ।
समुदायमा आत्महत्या बारे कुरा गर्ने मान्छेले वास्तविकतामा त्यसो गर्दैन भन्ने भ्रम छ । तर आत्महत्या गर्ने प्रायःले त्यसबारे कुरा गर्ने गरेको पाइएको उनले बताए । परिवारका सदस्य, नजिकैका आफन्त र साथीभाइले कसैले ’मरिदिन्छु’ भन्यो भने सो कुरालाई सरल रूपमा लिन नहुने उनले सुनाए । आत्महत्या गर्न चाहने मानिसहरूमा त्यो सोचाई प्राय“ क्षणिक हुने गरेको प्रमुख डा. बरालले बताए । ’समाजमा आत्महत्याको बारेमा सोध्दा त्यसको जोखिम बढ्न सक्छ भन्ने गलत धारणा छ । सोध्दा जोखिम बढ्ने होइन, बरु बिरामीले आफूलाई राहतको महसुस गरी उनीहरुलाई जोगाउन सकिन्छ,’ उनको भनाइ छ ।
आत्महत्याका धेरै कारणहरू हुन्छन् । जसमा धेरै उदासीन हुने, मनोरोग÷डिप्रेसन हुने, रक्सीको दुर्व्यसन, सिक्टजोफ्रेनिया, विगतमा आत्महत्याको प्रयास गरेको पारिवारिक इतिहास, आत्महत्याको सोच बनाइ योजना बनाएकाहरूको नजिकै विभिन्न साधन सहज पहुँच भएमा, द्वन्द्व, प्रकोप, हिंसा, दुर्व्यवहार, एक्लोपन आदिका कारण यस्तो घटना घट्ने डा. बरालले बताए । आत्महत्या प्रयास गर्नेहरूको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई परामर्श तथा आत्मबल बढाउनका लागि सरकारले पहलको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।