निजगढ,निजगढ नगरपालिकको १० औं अधिवेशनको दोस्रो बैठक मंगलवार सम्पन्न भएको छ । नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो बैठकले चालु आर्थिक वर्षको लागि सशर्त अनुदान २४ करोड ७२ लाखसहित जम्मा ९५ करोड ३ लाख ८ हजार बराबरको बजेट पास गरेको छ ।
उपप्रमुख सोममाया थिङ्गले नगरपालिकाको बिनियोजन विधेयक २०७९ छलफलको सभामा पेस गर्नुभएको थियो । बजेटमा पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको छ । जसअनुसार सडक, नाला र अन्य पूर्वाधार निर्माणको लागि ५ करोड ७२ लाख रुपैया विनियोजन गरिएको छ । त्यसैगरी डिप बोरिङ्ग, सिँचाई तथा खानेपानी निर्माणतर्फ १३ करोड ८ लाख र तटबन्द निर्माणमा ६० लाख रुपैया रुपैया छुट्याइएको नगर उपप्रमुख थिङ्गले जानकारी दिनुभयो ।
बैठकले विनियोजन विधेयक सर्वसम्मतिले पास गर्नुको साथै न्यायिक समिति समेत गठन गरेको छ । उपप्रमुख संयोजक रहने सो समितिमा वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना र कार्यपालिका सदस्य रेणुकुमारी दर्जी सदस्य चयन हुनुभएको छ । सभामा वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा र वडा नम्बर १३ का अध्यक्ष सूर्यबहादुर घलानले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


















