कलैया,जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा दुधभन्दा घरेलु मदिराको उत्पादन बढी हुने गरेको पाइएको छ ।

गाई र भैसीको दैनिक एक हजार लिटर दुधमात्र उत्पादन हुने सो वडामा दैनिक करीव १ हजार २ सय लिटर घरेलु मदिरा उत्पादन हुँदै आएको छ ।

प्रहरीको संरक्षणमै यहाँ मदिराको उत्पादन फस्टाएको स्थानीयले बताएका छन । यस क्षेत्रमा सयौं परिवारले मदिरा उत्पादनबाट दैनिक गुजारा चलाउदै आएका छन । जनजातिसंगै क्षेत्री र ब्राह्मण परिवारलेसमेत घरेलु मदिरा उत्पादन गर्ने गरेको पाइएको छ ।

आम्दानीको अर्को स्रोत नभएका न्यून आय भएका परिवारले उत्पादन गर्ने मदिरा यही क्षेत्रका एक दर्जन महिला कारोबारीहरुले संकलन गरि मोटरसाइकल तथा अटोहरुमा राखेर निर्वाद रुपमा सदरमुकाम कलैया र नेपाल भारतको सिमा क्षेत्र र पर्साको वीरगन्जसम्म पुर्याएर बेच्दै आएका छन् । कारोबारीसंग नजराना लिएर प्रहरीले मदिरा ओसार पसारको लाईन दिने गरेको बताइएको छ । प्रहरीले साप्ताहिक रुपमा भुक्तानी तालिका बनाएर मदिरा संकलन गर्नेहरुबाट मोटो रकम असुल्दै आएको एकजना संकलक तथा मदिरा कारोबारीले बताए । उनका अनुसार प्रहरीको स्थानीय यूनिटहरुमा एकजना कारोबारीले प्रतिमहिनमा २५ हजार बुझाउने गरिएको छ । त्यसका लागि मदिरा उत्पादकहरुसँग प्रति ५ सय रुपैंया मासिक रुपमा काटिने गरिएको नाम नछाप्ने सर्तमा एक महिला कारोबारीले बताइन । उनका अनुसार मासिक रुपमा प्रहरीलाई रकम बुझाउँदा प्रहरीले बजारमा लैजाने समय र बाटो देखाएर सहयोग गर्ने गरेका छन् ।

बडहर्वा, लामिडाँडा र जैतापुरमा अधिकांश परिवारले घरमा नै रक्सी पार्ने गरेका हुन । सर्वसाधारणले उत्पादन गरेको मदिरामा कारोबारीले पानी मिसाएर बजार लगेर महँगोमा बेच्ने गरेका छन् ।

मदिरा कारोबारमा प्रहरीको संलग्नता रहेको कुरा प्रहरीका अधिकारी मान्न भने तयार छैनन् । ‘कानुनले बर्जित गरेको कुरालाई प्रहरीले संरक्षण गर्ने कुरा हुँदैन, यस्तो भएको भए यस्तो क्रियाकलाप तत्काल नियन्त्रण गर्नेतर्फ ध्यान दिइने छ ’ भर्खरै मात्रै बारा जिल्लामा सरुवा भइआउनु भएका प्रहरी प्रमुख उपरीक्षक दिलिपसिंह देउवाले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here