कलैया,बाराको मटिअर्वाबाट प्रहरीले अबैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । अर्को छुट्टै घटनामा प्रहरीले मटिअर्वाबाट अबैध पटका पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार लागुऔषधसहित पक्राउ पर्नेमा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.२० बसतपुर बस्ने २४ वर्षिय अरबाज आलम रहेका छन् । प्रहरी चौकी मटिअर्वाबाट गएको प्रहरी टोलीले सोहि उपमहानगरपालिका वडा नं. १० मटिअर्वास्थित शनिचरा मठ नजिकै भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका आलममाथि शंका लागेर शरीर खानतलासी गर्दा अबैध लागुऔषध बरामद गरेको हो । प्रहरीले उनको साथबाट ७ पिस नाईट्रोजन टयाबलेट र एक थान गाँजा खाने चिलम बरामद गरेको थियो । मटिअर्वा प्रहरीले लागुऔषध सहित पक्राउ गरि उनलाई जिल्ला प्रहरी कार्यालय बारामा पठाएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी प्रहरीले मटिअर्वाबाट अवैध पटका बरामद गरेको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १० स्थित मटिअर्वा नहर चौकबाट प्रहरीले ७० प्याकेट अन्दाजी करिब ७ हजार मूल्य बराबरको अबैध नागिन पटका बरामद गरेको हो ।
प्रहरी चौकी मटिअर्वाबाट गएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिमाथि शंका लागेर चेकजाँचका लागि रोक्न खोज्दा कालो रंङ्गको झोलामा रहेको सो पटका फ्याँकेर फरार भएका थिए ।
बरामद पटका प्रहरी चौकी मटिअर्वामा राखिएको र फरार व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।












