कृष्ण मोहन साह

सेढवा,पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ गडुवालाईनमा पाटेबाघले किसानको घरगोठमा प्रवेश गरेर एउटा गाई र बाख्रा मारेको छ ।

पर्सा राष्ट्रिय निकुन्जबाट गाउँ पसेको बाघले सोमबार बिहान करीब ३ बजेतिर स्थानीय देवीप्रसाद न्यौपानेले पालेको गाईलाई गोठमा नै आक्रमण गरी मारेको संरक्षणकर्मी एवम् सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष देवीप्रसाद दाहालले जानकारी दिनुभयो ।

रातको समयमा गाईलाई आक्रमण गरेको बाघ सोमबार दिउँसो करीब ३ बजे पनि गाउँ प्रवेश गरेर सोही ठाउँका अर्का स्थानीय किसान ढालबहादुर कार्कीको बाख्रालाई पनि मारेको संरक्षणकर्मी दाहालले बताउनुभयो । करीब १२ घण्टाको अन्तरमा वस्ती प्रवेश गरेर आतङ्क मच्चाउन थालेपछि स्थानीयले बाघ गाउँ नजिकै बसेको हुन सक्ने आशङ्कामा निकुन्ज प्रशासन र निकुन्ज सुरक्षार्थ तैनाथ गडुवा पोष्टका नेपाली सेनालाई जानकारी गराएका थिए ।

दाहालकाअनुसार स्थानीयले जानकारी गराएलगत्तै निकुन्जका रेन्जर लगायत नेपाली सेना र स्थानीयले बाघ लुकेको आशङ्का गरिएको स्थानमा खोजी गर्दा गाउँ नजिकै बाघ फेला पारेको थिए । नेपाली सेनाले बाघलाई धपाएर निकुन्ज फर्काएको भए पनि रातमा फेरि बाघ आउनसक्ने चिन्ताले गडुवालाईनका स्थानीय त्रसित बनेका छन ।

पछिल्लो बाघ गणनाको तथ्याङ्कले पर्सा राष्ट्रिय निकुन्जमा मात्र ४१ ओटा बाघ रहेको देखाएको छ । बाघको सङ्ख्यामा वृद्धि भएसँगै निकुन्ज आसपासका क्षेत्रमा बाघको आतङ्क पनि बढ्न थालेको हो ।

Leave a Reply