निजगढ,पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवादेखि गढीमाई मन्दिर जाने सडकसम्म ३३ केभि क्षमताको अण्डरग्राउण्ड विद्युत प्रसारण लाईन निर्माण हुने भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तरगत निकुञ्जमा पर्ने करिब ४ हजार ८ सय ३० मीटर लम्बाई क्षेत्रमा अण्डरग्राउण्ड प्रशारण लाइन निर्माण भएपछि निजगढ नगरपालिकाका उपभोक्ताले हाल बेहोर्दै आएको विद्युत अनियमितताको समस्या अन्त्य हुने भएको छ ।
निजगढ नगरपालिकामा आइतवार भएको विद्युत आपूर्ति सम्बन्धि छलफलमा उक्त भूमिगत प्रशारण लाइन निर्माण गरेर निजगढ क्षेत्रमा विद्युत आपूर्ति नियमित पर्न नेपाल विद्युत प्राधिकरणसंग अनुरोध गर्ने निर्णय भएको थियो । प्राधिकरणले यसअघि नै निर्माणको योजना अघि सारेको भएपनि वन मन्त्रालयले स्वीकृति नदिदा सो आयोजना अलपत्र परेको थियो ।
वन तथा वातावरण मन्त्री प्रदीप यादवको पहलमा बुधवार अण्डरग्राउण्ड प्रशारण लाइन निर्माण गर्ने निर्णय भएको हो । मन्त्री यादवका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट पेश भएका सम्पुर्ण शर्तहरुको पालना हुने गरी प्रसारण लाईन जडान हुनेछ ।
वन तथा वातावरण मन्त्रालयको बैठकको निर्णयअनुसार सो क्षेत्रमा भोगाधिकारको जग्गाभित्र पर्ने गरी माग बमोजिम ३३ के.भि. क्षमताको अण्डर ग्राउण्ड विद्युत प्रसारण लाईन निर्माण गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिइएको मन्त्री यादवका उपस्वकीय सचिव निखिल बरनवालले जानकारी दिनुभयो ।
मन्त्री यादवले लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाई जानेबाटोसम्म ३३ के.भि. क्षमताको अण्डरग्राउण्ड (भूमिगत) विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधिन १३२ केभि विद्युत प्रसारण लाईनअन्र्तगत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राधिकरणले मागेको अनुमति पनि मन्त्री यादवले स्वीकृत गर्नुभएको छ । सो लाइन निर्माण भएपछि निजगढमा समय–समयमा विद्युत अवरुद्ध हुने, ट्रिपीङ्ग हुने, भोल्टेज कम हुने, अघोषित रुपमा लोडसेडिंग हुने जस्ता समस्याहरु अन्त्य हुने र उपभोक्ताले राहत पाउने भएका छन ।
मन्त्री प्रदीप यादवले वन मन्त्रालयबाट अनुमति नपाएर रोकिएका सबै निर्माणका कामहरु तिव्र गतिमा अघि बढ्ने प्रतिबद्धता गरेअनुरुप विद्युत प्रसारण लाईन जडानको काम अघि बढ्ने भएको छ ।
यस क्षेत्रका उद्योगी व्यवसायीले लामो समयदेखि उक्त समस्या समाधान गर्न आग्रह गर्दै आएका थिए । तर यसअघिका सरकारले व्यवसायीहरुकोे समस्या समाधान गर्न चासो देखाएका थिएनन् । मन्त्री नियुक्त भएपछि उद्योगीहरुलाई विद्युत आपूर्तिको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । मन्त्रालयको निर्णयबाट विद्युत आपूर्ति सम्बन्धमा बारा र पर्साका उद्योगीहरुको माग पूरा भएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले बताउनुभयो ।


















