बाराको गढीमाई मन्दिर धार्मिक हिसावले दक्षिण एसियाकै निकै महत्वपूर्ण स्थान हो । यहाँको धार्मिक तथा पर्यटकीय अभिवृद्धिका लागि गढीमाई क्षेत्रको विकास र विस्तार गर्न अझै आवश्यक छ ।
बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको गढीमाई मन्दिर खासगरी पशु बलीको दृष्टिले अलि बढी प्रख्यात छ । यद्यपि पछिल्लो समय बलीका विषयमा विभिन्न कोणबाट वहस पनि भइरहेको छ । यसपाली बली घटाउने विषयमा पनि कुरा भइरहेको छ । तर यो फरक प्रसङ्ग हो ।
बारा जिल्लाबासीकै पहिचान र स्वाभिमानसंग जोडिएको हुनाले यो मेलालाई सभ्य बनाउनु सबैको कर्तव्य हुनेछ । स्थानीय सरकारका हिसावले र आयोजक भएका नाताले बाराको महागढीमाई नगरपालिकाको पक्कै सबैभन्दा बढी जिम्मेवारी र दायित्व हुन्छ । तर यसो भन्दैमा जिल्लाबासीहरु उन्कन मिल्दैन तर यसका लागि महागढीमाईले भने सबैसंग सहकार्य गर्न पनि उत्तिकै आवश्यक छ । स्थानीय आयोजक भएकाले उसको बढी जिम्मेवारी फेरि यसैमा रहनेछ ।
विगतमा गढीमाई मेला विवादरहित हुन सकेन । अपेक्षा गरिए जस्तो सभ्य पनि हुन सकेको छैन । कुनै न कुनै हिसावले विकृति देखिएको थियो र समस्या पनि देखिएको थियो । अब यो पाली यस्तो नहोस् । मेला सभ्य र भव्य बनाउनका लागि बेलैमा यस सम्बन्धि योजना बनाउन आवश्यक छ । लगभग असोज लागेपछि मेलाको रौनक देखिने भएकाले अब दशैंलगत्तै नै यो मेलालाई सभ्य बनाउन सबै लाग्न आवश्यक छ ।


















