कलैया,बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपातीका एकै परिवारका तीन जनाको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।भारतको रक्सौलबाट फर्किदै गर्दा छौडादानोको बखरी गाउँ नजिकै मोटरसाइकल दुर्घटनामा परेर पाँच महिनाका एक नाबालकसहित एकै परिवारका तीन जनाको सोमवार ज्यान गएको हो ।मृत्यु हुनेमा पाँच महिनाका शिशु दिव्यांश साह, उनकी २० वर्षीया आमा रेश्मीदेवी र ५० वर्षीया हजुरआमा राजकुमारी देवी रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा २५ वर्षीय धर्मराज साह गम्भीर घाइते भएका छन् । उनको हाल भारतको मोतिहारीस्थित अस्पतालमा उपचार भइरहेको छ । धर्मराजको शरीरको विभिन्न भागमा गम्भीर चोट रहेको र हातखुट्टा भाँचिएको बताइएको छ ।
धर्मराज साह आफ्नो पाँच महिनाको छोराको उपचारका लागि पत्नी र आमासहित रक्सौल गएका थिए । उपचारपछि घर फर्कंदै गर्दा सडक निर्माणको क्रममा खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटनामा परेको स्थानीयले जानकारी दिएका छन् । मृतकहरुको मंगलवार गाउँमा शव ल्याएर अन्त्यष्टि गरिएको छ ।धर्मराजको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा पनि समस्या देखिएको छ । घटनापछि पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले धर्मराजको उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । ‘यो दुर्घटना अत्यन्त दुःखद र हृदयविदारक छ । पीडित परिवारलाई तत्काल राहत पुग्ने गरी पालिकाबाट सहयोग उपलब्ध गराउनेछु’ नगर प्रमुख सिंहले भन्नुभएको छ ।
धर्मराजको उपचारका लागि समुदायस्तरबाट सहयोग जुटाउन अभियान सुरु गरिएको छ ।

Leave a Reply