मनहर्वा/बरियारपुर, २३ साउन– बारा जिल्लाको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको कलैया अस्पतालमा कार्यरत १ जना चिकित्सकसहित १० जना स्टाफमा कोरोनाको संक्रमण पुष्टि भएको छ । यससँगै बिहिबारबाट अस्पतालको सबै सेवा पूर्णरुपमा बन्द भएको छ ।

गत सोमबार ४ जनामा संक्रमण देखिएपछि साँझबाट प्रसूति बाहेकका अन्य सेवा बन्द भएकोमा बिहिबारबाट अस्पतालको सबै सेवा बन्द गरिएको अस्पतालका प्रमुख डाक्टर बिरेन्द्र मण्डलले जानकारी दिनुभयो ।

संक्रमित हुनेहरुमा १ जना डाक्टर, २ जना नर्स, २ जना स्वीपर, १ जना फार्मेसी, १ जना एक्सरे र बाँकी ३ जना अन्य रहेका छन् । जिल्लाका ७४ जनाको रिपोर्ट आउँदा अस्पतालका १० जनामा संक्रमित देखिएको हो । अस्पतालका थप २० जनाको रिपोर्ट आउन बाकी नै रहेको प्रमुख मण्डलले बताउनुभयो ।

साउन २० गते ९४ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षणकोलागि वीरगंज पठाइएकोमा अस्पतालमा कार्यरत एक चिकित्सकसहित १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यस अघि कलैया अस्पतालमा सरसफाइको काम गर्ने २ सहित अस्पतालका ४ जनामा सोमबार कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालको पोस्टमार्टम कक्षमा सरसफाइको काम गर्ने २ महिला, अस्पतालले सञ्चालन गरेको औषधि पसलका अर्का एक पुरुष फार्मेसी सहायक र स्वीपरको छोरामा समेत कोरोना पुष्टि भएको कलैया अस्पतालका जनस्वास्थ्य प्रमुख डा. मण्डलले जानकारी दिनुभयो ।

यसैबीच बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितले संक्रमण बढदै गएको भन्दै सचेत र सम्वेदनशील हुन जिल्लाबासीहरुमा आग्रह गर्नुभएको छ ।

Leave a Reply