रौतहट,नेपालबाट भारततिर प्रतिबन्धित लागू औषध गाँजा तस्करी गर्ने नयाँ तरिका रौतहटमा बाहिरिएको छ । गाँजाको ठूलो खेप भारततिर नपठाई सीमा क्षेत्रमा जमिनमुनि भण्डारण गर्ने र क्रमशः तस्करी गर्ने गरेको रहस्योद्घाटन भएको हो ।

रौतहट सदरमुकाम गौर नपा ३ स्थित नेपाल भारत सीमासँग जोडिएको एक कुखुरा फार्म छेउमै जमिन मुनिबाट प्रहरीले एक क्वीन्टल ८० किलो गाँजा बरामद गरेको छ ।

मकवानपुरबाट ल्याएर कुखुरा फार्मको बालुवा भएको जमिनमा गाडेर लुकाई भागेको अवस्थामा प्रहरीले जमिनबाट गाँजा निकाल्नुका साथै ट्रक र चालकलाई पनि नियन्त्रणमा लिन सफल भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बीरबहादुर बुढा मगरका अनुसार लिजमा जमिन लिएर भारतका अफरोज मियाले सञ्चालन गरेको कुखुरा फर्मबाट ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।

कुखुरा फार्मसम्म गाँजा पुयाउने बागमती प्रदेश ०१–००६ ख २८३० नम्बरको ट्रक र ट्रक चालक मकवानपुरका सुरेन्द्र स्यांतानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुखुरा फार्मका सञ्चालकहरू फरार भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply