जनकपुरधाम,मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार पुनः विश्वासको मत लिँदै हुनुहुन्छ । पदभार सम्हालेको डेढ वर्षको अवधिमा उहाँले यो पाँचौँ पटक विश्वासको मत लिन लाग्नुभएको हो । पछिल्लो पटक सत्ता गठबन्धनमध्येका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनु परेको हो ।
सत्ता साझेदारी नेपाली कांग्रेस बाहिरिएर २०८० चैत ९ गते विश्वासको मत फिर्ता लिएपछि जनता समाजवादी पार्टी नेपालको तर्फबाट मुख्यमन्त्री बन्नुभएको यादवले चौथो पटक २०८१ वैशाख ४ गते विश्वासको मत लिनुभएको थियो । त्यसबेला एमालेको २४, जसपा नेपालको १९, माओवादी केन्द्रको नौ, नेकपा (एकीकृत समाजवादी) को सात, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक÷एक गरी ६१ मत विश्वासको पक्षमा परेको थियो ।
नेपाली कांग्रेससँग सत्ता गठबन्धन भत्काएर बनेको यो गठबन्धनले दिएको विश्वास मतको २७ दिनमै सत्ता गठबन्धनमध्येका एमाले र माओवादीले समर्थन फिर्ता लिएकाहुन ।मधेसमा २ वर्षको अवधिमा अहिलेसम्म चार पटक सत्ता गठबन्धनमा फेरबदल भएको छ । मुख्यमन्त्री यादवले चारै पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । दुई पटकसम्म सबै सांसद, दलको विश्वासको मत पाउनु भएको थियो भने तेस्रो पटक नेकपा (एमाले) र जनमत पार्टीको विश्वासको मत पाउनु भएको थिएन ।
तेस्रो पटक २०८० फागुन ६ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिनुभएको थियो । त्यसबेला विश्वास मत प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा ३५ मत प्राप्त भएको हो । पक्षमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान गर्नुभएको थियो । विपक्षमा भने नेकपा (एमाले) र जनमत पार्टीले मतदान गरेको थियो ।
यसअघि विक्रम संवत २०८० जेठ १ गते मधेश सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो । २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादव पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिनु भएको थियो ।
कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बुधबार दिउँसो ३ बजे विश्वासको मत लिने भनेर प्रदेश सभाले सूचना जारी गरिसकेको प्रदेश सभाका सूचना अधिकारी कानुन अधिकृत चन्दनकुमार ठाकुरले जानकारी दिनुभयो ।
मधेश प्रदेश सभामा सदस्य सङ्ख्या १०७ छन् । विश्वासको मतको पक्षमा न्यूनतम ५४ सदस्यको समर्थन आवश्यक छ । सभामा नेकपा (एमाले) २५, नेपाली कांग्रेस २२, जनता समाजवादी पार्टी नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी आठ, नेकपा (माओवादी केन्द्र) नौ, नेकपा (एकीकृत समाजवादी) पार्टी सात, नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी एक÷एक प्रदेश सांसद छन् । लोसपामा एक जना सदस्य निलम्बनमा पर्नु भएको छ ।
मुख्यमन्त्री यादवले विश्वासको मत पाउने वा नपाउने विषय सर्वत्र चासोको विषय बनेको छ । मुख्यमन्त्रीको विश्वासको मत प्राप्ति वा नयाँ गठबन्धनको मुख्य साँचो नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा रहेको अनुमान गरिएको छ ।
मुख्यमन्त्रीलाई विश्वासको मतको विपक्षमा गठबन्धन बनाएर सरकारको नेतृत्व लिन एमाले, माओवादी र जनतम पार्टी सक्रिय छन् भने मुख्यमन्त्री यादव आफ्नै नेतृत्वको सरकारको पक्षमा मातृत्व पार्टी जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा, नेकपा(एस) विश्वासको मत दिने आशावादीमा हुनुहुन्छ ।यसैबीच कांग्रेसले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । संसदीय दलमा कांग्रेसको मंगलवार बसेको बैठकले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्णय गरेको हो ।संसदीय दलका प्रमुख कृष्णा यादवले बुधवार सदनबाट मुख्यमन्त्री यादवले लिन लागेको विश्वासको मतमा जसपा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको बताउनुभयो ।मधेस प्रदेश सरकारबाट माओवादी र एमाले बाहिरिएपछि मुख्यमन्त्री यादवले पाँचौ पटक लिन लाग्नुभएको विश्वासको मतमा मुख्यमन्त्री यादवको पक्षमा उभिने निर्णय भएको बैठकमा सहभागी प्रदेश सांसद श्याम पटेलले बताउनुभयो ।



















