निजगढ,निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले आफू नगर प्रमुख नभएर प्रमुख नगर सेवक भएको बताउनुभएको छ । नगरपालिकामा नवनिर्वाचित नगर उपप्रमुखसहित नगरका १३ वटै वडाका अध्यक्ष र सदस्यहरुको लागि सोमवार आयोजना गरिएको पद तथा गोपनियताको शपथ कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले सो कुरा बताउनुभएको हो ।

नगर प्रमुख पुरीले सबै जनप्रतिनिधिहरुले आफूलाई मालिक होइन, जनताको सेवक भएको भावना राखेर काम गर्नु पर्ने बताउनुभयो । उहाँले सेवकको भावना राखेर काम गर्न सकेमात्रै नगरबासी जनताको विकास शंभव भएको सुनाउनुभयो ।

कार्यालयका कर्मचारीहरुले पनि जनप्रतिनिधिहरुलाई रिझाउनेभन्दा जनताको सेवालाई महत्व दिएर काम गर्नुपर्ने बताउनुभयो । ‘हामीलाई नमस्कार गर्नुस वा नगर्नुहोस, यसको कुनै अर्थ छैन, कर्मचारीप्रति लक्षित गर्दै नगरप्रमुख पुरीले भन्नुभयो, तर जनतालाई मुस्कानसहितको सेवा दिनुहोस ।’ उहाँले नागरिकको सेवा नै कर्मचारीको मुख्य कर्तव्य भएको बताउनुभयो । राष्ट्रसेवक कर्मचारीले उच्च मनोवलका साथ काम गर्ने वातावरण तयार पार्न आफूहरु प्रतिवद्ध रहेको र कर्मचारीहरुले पनि नगरबासी जनताको काममा इमान्दारिताका साथ काम गर्नुपर्ने बताउनुभयो ।

एक अर्को प्रसङ्गमा नगर प्रमुख पुरीले आफू र आफ्नो टिमबाट नगर उपप्रमुखमा चुनाव जित्नुभएकी सोममाया थिङ्गले पनि घरबाट एक रुपैया खर्च नगरेको भन्दै आफूहरुलाई नगरपालिकामा गएर चुनाव खर्च उठाउने बाध्यता नभएको बताउनुभयो ।

निजगढस्थित बैङ्गकुट सभा हलमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख पुरीले सुरुमा उपप्रमुख थिङ्गलाई शपथ गराएपछि वडा अध्यक्ष र सदस्यहरुलाई ईश्वर, देश र जनताको नाममा पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।

नगर प्रमुख पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका नेता एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल, एमाले नेता अच्युत मैनाली, ज्वाला साह, बलवीर चोधरी, निजगढ नगरपालिकाका पूर्वनगर प्रमुख सुरेश खनाल, उपपप्रमुख लिलादेवी लामिछानेले नवनिर्वाचित जनप्रतिनिधहरुलाई बधाइ दिदै नगरको विकासकामा काम गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले जनताको भावना र चाहनाको पहिचान गरेर काम गर्न सकेमात्रै जनताको मन जित्न सकिने बताउनुभयो । उहाँले जनप्रतिनिधिहरु सदैब जनताप्रति उत्तरदायी बनेर काम गर्नुपर्ने बताउनुभयो ।

सपथग्रहण गरेपछि निजगढ नगरपालिकाकी उपप्रमुख थिङ्गले कार्यालयमा पुगेर पदभार गर्नुभएको छ । वडा अध्यक्ष र सदस्यले पनि वडा कार्यालयमा मंगलवार पदभार गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here