नरेश गुप्ता,पचरौता नगरपालिकामा शुक्रवारको मतदान क्रममा नेकपा एमाले र जनता समाजवादी पार्टीका कार्यकताबीच भएको झडपमा एमाले वडा अध्यक्षका उम्मेदवार बैधनाथ यादवसहित आधा दर्जन घाइते बनेका छन । झडपपछि वडा नम्बर २ र ४ को ४ वटा मतदान केन्द्रको चुनाव स्थगित भएको छ ।

वडा नम्बर– २ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावि मतदान केन्द्रको मतदान रद्द भएको पचरौता नगरपालिकाका निर्वाचन अधिकृत नीरबहादुर दाहालले जानकारी दिनुभयो । त्यसैगरी वडा नम्बर–४ मा रहेको बेलदारी प्रावि मतदान केन्द्र ’क’ र ’ख’ को मतदान पनि रद्द भएको उहाँले बताउनुभयो । ती चार वटै केन्द्रमा मतदानको मिति चाँडै तोकिने र मतदान प्रक्रिया फेरि सुरु हुने निर्वाचन अधिकृत दाहालले जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टीबाट पचरौता नगरपालिकाका मेयर पदका प्रत्यासी रमेशकुमार यादवका कार्यकर्ताहरुले मतदान केन्द्र नियन्त्रणमा लिएपछि एमाले र जसपाका कार्यकर्ताबीच झडप भएको थियो । मतदान केन्द्रमा जसपाका कार्यकर्ताले एकलौटी रुपमा बुथ कब्जा गरेपछि त्यसको बिरोध गर्दा वडा नम्बर ४ बाट एमालेका वडा अध्यक्षका प्रत्यासी बैधनाथप्रसाद यादवसहित आधा दर्जन घाइते भएका थिए ।

झडपमा परी पचरौता नपा वडा नम्बर २ बैरिया निवासी रामबिश्वास साह, त्रियोगी साह कनु, सिरपती देबी, शम्भु शर्मा, राजकपुर कुशवाहा, दिनेश दास, श्रीपती देबी लगायत आधा दर्जन घाइते भएका छन ।

पचरौता नपा वडा नम्बर २ र ४ मा खटेका मतदान अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सहित तीनै तहका सुरक्षाकर्मीको उपस्थितिमा बुथ कब्जा हुनुले मिलिमतोको आशंका गरिएको छ । पचरौता नपा वडा नम्बर २ स्थित श्री नगर बैरिया प्राथमिक विद्यालयमा मतदान शुरु भएलगत्तै जसपाको कार्यकर्ताले एकलौटी गर्न खोजेपछि बिवाद उत्पन्न भएपछि झडप भएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल प्रहरी उपरीक्षक दिलिप सिंह देउवा लगायतको टोलीले समेत झडप भएको मतदान केन्द्रको स्थलगत अनुगमन गरेको थियो । झडपपछि एकलौटी रुपमा मतपत्र खसाएको भन्दै एमालेका नगर प्रमुख पदका प्रत्यासी जलान्धर सिंहले प्रेस विज्ञप्ति निकालेर चुनावमा धांधली भएको भन्दै तीन वटा मतदान केन्द्रको चुनाव रद्द गर्न माग गर्नुभएको थियो ।

मधेस प्रदेश सभाका सभामुख सरोजकुमार यादव र जसपाबाट मेयर प्रत्यासी रमेश कुमार यादवले षड्यन्त्रपूर्वक प्रहरी प्रशासनको मिलोमतोमा लठैयतहरुको प्रयोग गरेर बुथ कब्जा गर्न लगाएपछि झडप भएको स्थानीयहरुले बताएका छन् ।

त्यसैगरी निजगढ नगरपालिका वडा नम्बर ६ को गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा पनि नेकपा एमाले र राप्रपाका कार्यकर्ताबीच झडप हुँदा केही बेर मतदान स्थागित भएको थियो । असाहयको व्यक्तिको नाममा राप्रपाका कार्यकर्ताहरुले आफैले भोट हाल्न थालेपछि एमाले कार्यकर्ताहरुले प्रतिकार गरेपछि झडप भएको हो । त्यस्तै निजगढको वडा नम्बर २ स्थित लोकप्रिय आधारभूत विद्यालयमा पनि एमाले र कांग्रेश कार्यकताबीच केही समय झडप भएको थियो ।

उता, जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ६ बलहियामा समेत दुई पक्षका कार्यकर्ताबीच झडप भएको थियो । केहीबेर अघिबाट पुनः मतदान सुरु भएको बुझिएको छ ।

Leave a Reply