पुष्पराज खतिवडा
मनहर्वा,नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ५ दलीय गठबन्धन देशका लागि लुतो भएको बताउनुभएको छ ।
मंगलबार सिमरामा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै पूर्वरक्षामन्त्री समेत रहेका महासचिव पोखरेलले एमालेलाई हराउने पहिलो लक्ष्य बनाएको गठबन्धनको लुतो ३० गतेपछि फालिने बताउनुभयो ।
वर्तमान गठबन्धन सरकारले जनताको पक्षमा काम गर्नुको सट्टा स्वार्थ को राजनीति गरेको उहाँको आरोप थियो । ‘उनीहरुले विकास र समृद्धिलाई बवास्ता गर्दै राज्य र राष्ट्रियतामा नै नकरात्मक प्रभाव पार्ने हरकत गरेको छन, उपाध्यक्ष पोखरेलले भन्नुभयो, त्यस्ता तत्वलाई जनताले सजय दिने बेला आएको छ ।’
नेपाली काँग्रेसले ईमानको राजनीति छोडेर प्रचण्ड र माधवहरुको इसारामा देशलाई बन्धक बनाएको आरोप समेत उहाँले लगाउनुभयो ।
सिद्धांन्तबिहिन गठबन्धनले देश हितलाई दाउमा राखेर पश्चगामी तत्वहरुको हितमा काम गर्दा देशमा बिकासले गति लिन नसकेको पोखरेलको भनाइ छ । माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति देउवाको खुट्टामा झुन्डिएको उहाँको भानाइ थियो ।
उनीहरुले जनतालाई भ्रममा पारेर आफ्नो स्वार्थ पूरा गर्न लागि परेको भन्दै पोखरेलले नेपाली जनतालाई भ्रममा नपर्न आग्रह गर्नुभयो । ‘एमालेको कहिल्यै बहुमतको सरकार थिएन, उहाँले भन्नुभयो, तैपनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनहितमा धेरै महत्त्वपूर्ण काम गरेको छ ।’
एमालेको सरकारले पूर्वपश्चिम सडक चौडा गर्ने, तराई मधेशका सदरमुकामसम्म जोड्ने सडकहरु निर्माण र बिस्तार गरि सडक सुधारको काम गरेको उहाँले बताउनुभयो ।
पूर्वपश्चिम हुलाकी सडक विस्तारले मधेसको लाइफ लाइन निर्माण गर्ने काम पनि ओली नेतृत्वको सरकारले पुरा गरेको उहाँले बताउनुभयो । जनतासंगै देशधनी बनाउने अभियानको अगुवाइ एमालेले गरेको उहाँको दाबी थियो ।
नेकपा एमालेको सरकारले स्थानीय तथा प्रदेश सरकारहरु समेतको समन्वयमा १४ सय रणनीतिक सडक शिलान्यास गरेर बजेट र कार्यक्रम बनाएको भएपनि वर्तमान सरकारले त्यसलाई रोक्ने काम गरेर विकास विरोधि हर्कत गरेको उहाँको भनाइ थियो । ‘३९६ अस्पताल शिलान्यास भएका थिए, उहाँले भन्नुभयो, त्यो सबै गठबन्धन सरकारले रोक्यो ।’ ती काम अब बन्ने एमाले सरकारले साकार गरेरै छाड्ने बताउदै उपाध्यक्ष पोखरेलले स्थानीय निर्वाचनपछि देशमा एमालेको सरकार बन्ने बताउनुभयो ।
संसदले एकमतले पारित गरेको देशको चुच्चे नक्सा र सो क्षेत्रको भुमिको सम्बन्धमा गठन्धन सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्दा समेत सो पुस्तकमा चुच्चे नक्सा नपर्नुले उनीहरु मुलुकप्रति कति गैरजिम्मेवार छन् भन्ने देखाएको उहाँको भनाइ थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ को सिमरामा आयोजित कार्यक्रममा एमाले मधेस प्रदेश सहइन्चार्ज एवं पूर्वमन्त्री पुर्षोत्तम पौडेल सहइन्चार्ज ज्वाला कुमारी साह, पालिका मेयर पदकी उम्मेदवार सरस्वतीकुमारी चौधरी उपमेयरका उम्मेदवार भोलाप्रसाद अधिकारी लगाएतले बोल्नुभएको थियो ।

















