नरेश गुप्ता
बरियारपुर,नेकपा एकीकृत समाजवादीले बाराका विभिन्न स्थानीय तहमा प्रमुख उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएको छ ।
नेकपा एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्माको अध्यक्षतामा केही दिनअगाडि बसेको सचिवालय कमिटको बैठकबाट जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय गरेको थियो । स्थानीय तहको निर्वाचनको लागि नेकपा एकीकृत समाजवादीबाट महागढिमाई नगर प्रमुखमा अमजद अली अन्सारी र उपप्रमुखमा ममता साहलाई उम्मेदवार बनाएको छ । यसैगरी देवताल गाउँपालिकामा अध्यक्ष पदको लागि रामनिवास साह, उपाध्यक्षमा दलित महिला सुनिता रामलाई उम्मेदवार बनाइएको जिल्ला सचिव बिक्रम ठाकुरले जानकारी दिनुभयो ।
त्यसैगरी बिश्रामपुर गाउँपालिकामा अध्यक्ष पदमा मदन यादव र सुवर्ण गाउँपालिकामा अध्यक्ष पदमा अरूण सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ । एकीकृत समाजवादी पार्टी बाराले उम्मेदवारी दर्ता गराएको महागढिमाईका अजमद अली अंसारी, उपप्रमुख ममता साह, वडा अध्यक्ष गणेश साहलाई पार्टी कार्यालयमा बुधवार बधाई एवं समान गरिएको थियो ।
सो अवसरमा एकीकृत समाजवादीका जिल्ला सचिव बिक्रम ठाकुर, कलैया उपमहानगरपालिका नगर कमिटी अध्यक्ष अरुण खनाल, अनेरास्ववियु केन्द्रीय सद्स्य इमरान आलम, युवा संघ नेपाल कलैया नगर कमिटी अध्यक्ष हरिओम साह लगायतको सहभागिता रहेको थियो ।