वीरगन्ज,वीरगन्ज महानगरपालिकाको नगरप्रमुख (मेयर) मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । समाचार तयार पार्दा सम्म सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का नेता राजेशमान सिँहसहित १८ जनाले मेयरमा मनोनयन दर्ता गराएका हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयरमा लडी १२ हजार १ सय ३५ मत पाएर तेस्रो स्थानमा रहेका सिँहले यसपटक जसपाबाट मनोनयन दर्ता गराएका हुन् । सत्ता गठबन्धन नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी (एस) र राष्ट्रिय जनमोर्चाको तर्फबाट सिँहले उम्मेदवारी दर्ता गराएको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिनुभयो । सचिव अहमदका अनुसार जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव लगायत हजारौं नेता एवम् कार्यकर्ताको उपस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले मेयरमा मनोनयन पत्र दर्ता गराउनुभएको हो ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलमले महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । सिंहसहित नेकपा एमालेको तर्फबाट निवर्तमान मेयर बिजयकुमार सरावगीले पनि मनोनयन पत्र दर्ता गराएका छन् ।

तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित सरावगीले जसपाबाट पुनः टिकट पाउने सम्भावना नदेखेपछि डेढ महिनाअघि मात्रै जसपा परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो ।

नेकपा एमालेले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संग तालमेल गरेको छ । एमाले र लोसपाबाट उपमेयरमा लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पूर्वमेयर स्वर्गीय गोपाल गिरीका छोरा गिरीश गिरीले पनि महानगरको मेयरमा उम्मेदवारी दर्ता गर्नुभएको छ । पत्रकार तथा लेखकसमेत रहेका गिरीलाई राप्रपा पर्साले उम्मेदवार बनाएको हो ।

विगतमा आफ्ना बुबाले देखेको सपनालाई पूरा गर्न र वीरगन्जको बिकासका लागि मेयरमा उम्मेदवारी दिएको गिरीले बताउनुभयो । राप्रपाबाट बिना जयसवालले उपमेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार र नेपाल मजदुर किसान पार्टीबाट गोकर्णप्रसाद कोइरीको पनि मेयरमा उम्मेदवारी परेको छ । यस्तै गरी स्वतन्त्रबाट प्रभात सिह, जमिल राय भाठ, रिजवान अली, राजेन्द्र प्रसाद सिँह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्की राज पटेल, सन्जिव कुमार यादव, कैलाश प्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिँह र रोज मियाँ अन्सारीले पनि उम्मेदवारी दिएका छन् ।

लोसपाबाट असन्तुष्ट बनेकी नेतृ रम्भा मिश्राले स्वतन्त्रबाट उपमेयरमा मनोनयन दर्ता गर्नुभएको छ । मेयर र उपमेयरमध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने माग राखेका महिला नेतृहरुले दुवै पदमा पुरुषले नै टिकट पाएपछि मिश्रा आक्रोशित भएर स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको हो । यस्तै स्वतन्त्रबाटै शालिक प्रसाद कानुले पनि उपमेयरमा मनोनयन दर्ता गराउनुभएको छ ।

 

Leave a Reply