कृष्ण मोहन साह
सेढवा,आगामी वैशाख ३० गते हुन लागिरहेको स्थानीय तह निर्वाचन अन्तर्गत ठोरी गाउँपालिका अध्यक्ष पदमा आइतबार एक जनाको उम्मेदवारी दर्ता भएको छ ।
आसन्न स्थानीय तह निर्वाचनमा अध्यक्ष पदका लागि एकीकृत समाजवादी पार्टीका तर्फबाट गङ्गाबहादुर खड्काले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शिवराज न्यौपानेले जानकारी दिनुभयो । खड्का केहि समय अगाडि सम्पन्न नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको समयमा एमाले परित्याग गरेर एकीकृत समाजवादी प्रवेश गरेका नेता हुनुहुन्छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको नाम दर्ताको लागि वैशाख ११ र १२ गते २ दिनको समय छुट्याएको छ । यद्यपि पहिलो दिन एकीकृत समाजवादी बाहेक अन्य दल तथा स्वतन्त्र उम्मेदवारको नाम दर्ता नभएको मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताउनुभयो । समाजवादीले अध्यक्ष पदमा मात्र उम्मेदवारी दर्ता गरेको र थप उम्मेदवारको विषयमा सोमवार निर्णय लिइने अध्यक्ष पदका उम्मेदवार खड्काले जानकारी दिनुभयो ।
यसैबीच उम्मेदवारी दर्ताको पहिलो दिन प्रमुख दलहरूका उम्मेदवारहरुको नाम दर्ता नभएकोले सोमवार सबै दल तथा स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ता हुने सम्बन्धित दलहरूले जानकारी दिएका छन् । नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतले सोमवारमात्रै उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको ती दलहरूले जानकारी दिएका छन् । प्रमुख दलहरुले शक्ति प्रदर्शन सहित उम्मेदवारी दर्ता गर्ने तयारी गरेको बुझिएको छ ।
प्रमुख दलहरुले शक्ति प्रदर्शन र उम्मेदवारी दर्ताका निमित्त कार्यकर्ता उतार्ने तयारी गरेपछि उम्मेदवारी दर्ता व्यवस्थित गर्न आइतवार निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सन्चारकर्मी सहित सुरक्षा निकायको बैठक सम्पन्न भएको छ ।
बैठकले ट्राफिक व्यवस्थापन सहज बनाउन सबै सवारी साधनलाई मिलचोक हुँदै घ्याङ्डाँडा जान दिइने निर्णय गरेको छ । आठघरेबाट गाउँपालिका प्रवेश गर्ने बाटोमा सवारी साधन आवतजावतमा रोक लगाउने र मिलचोकबाट पिपलडाँडा जाने ढलान सडकबाट गाउँपालिका प्रवेश गर्ने बाटोमा सवारी साधन आवतजावतमा रोक लगाउने र सबै सवारी साधनलाई ज्ञानज्योति माविको मुख्य प्रवेशद्वार जाने बाटो भएर गुम्बातर्फ जान दिइने निर्णय बैठकले गरेको छ ।
सवारी साधन आवतजावतमा रोक लगाइएको सडक खण्डमा पैदलबाट आवतजावत गर्न दिइने व्यवस्था मिलाइएको छ । यस्तै सबै सवारी साधनलाई विद्यालय नजिक रहेको मैदानमा पार्किङको व्यवस्था मिलाइने निर्णय पनि बैठकले गरेको छ । सबै दलका नेता कार्यकर्ताहरु एवम् सर्वसाधारणलाई प्रहरीले तोकेको रुट प्रयोग गरेर सवारी साधन लैजान अनुरोध गरिएको सुरक्षा निकायका अधिकारीहरुको अनुरोध छ ।
बैठकमा मुख्य निर्वाचन अधिकृत शिवराज न्यौपाने , सहायक निर्वाचन अधिकृत कृष्णलाल श्रेष्ठ, नेपाली सेनाका सेनानी प्रदीप कुँवर, ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक ब्रम्हदेव साह, बिओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक शङ्कर कोइराला लगायतका सुरक्षा निकायका प्रमुख लगायत सञ्चारकर्मीको उपस्थिति थियो ।
यसैबीच आइतवार जिराभवानी गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा पनि एउटा दलले मात्र आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
जिराभवानी गाउँपालिका वडा नम्बर एक बलुवाका नेसार मिया तेलीले जनता समाजवादी पार्टी नेपालकोतर्फबाट वडा अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएको जिराभवानी गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्राण मेहताले जानकारी दिनुभयो । खुल्ला सदस्यमा बैजनाथ यादव, अमरेश ठाकुर लोहार, महिला सदस्यमा भगवती देबी थारु र दलित महिला सदस्यमा प्रतिमा देबी रहेका छन ।