सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले छुट्टै गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् । गठबन्धनभित्रको अर्को दल नेकपा माओवादी केन्द्र एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै कांग्रेस, जसपा र जनमोर्चा सम्मिलित तीन दलले केन्द्रीय गठबन्धन तोड्ने निर्णय गरेको हो ।
माओवादी केन्द्र गठबन्धनको मर्म विपरित एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै तीन दलले जीतपुरसिमरा उपमहानगरपालिकामा सहमतीका आधारमा उम्मेदवार तयार गरेर निर्वाचनमा सहभागी हुने निष्कर्ष निकालेका छन् ।
नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका प्रतिनिधि बाहेक आईतवार बसेको तीन दलको बैठकले आपसी सहमतीमा उम्मेदवार टुंग्याएर निर्वाचन लड्ने निर्णयसहित विज्ञप्ती समेत जारी गरेका छन् ।
विज्ञप्तीमा कांग्रेस नगर सभापति छविलाल शर्मा, जसपा केन्द्रीय सदस्य भरत खड्का र जनमोर्चाका केन्द्रीय सदस्य धर्मानन्द सुवेदीले हस्ताक्षर गरेका छन् । तीन दलका नेताले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ‘गठबन्धन भनेको वडादेखी नै हनुपर्ने, मेयर पाउने पार्टीले बढी लचकता देखाउनुपर्नेमा गठबन्धनको भावना र शक्ती सन्तुलनको नियम विपरित नेकपा माओवादीले आफ्नो गतिविधि बढाएकाले माओवादी बाहेकका गठबन्धनका अन्य दलले छुट्टै मेयरका उम्मेदवार खडा गरी प्रत्येक वडा तहसम्म गठबन्धन गर्ने निर्णय गरियो ।’
केन्द्रीय गठबन्धनको निर्णय बमोजिम प्रमुख पद पाएको माओवादी केन्द्र एकलौटी ढंगबाट अघि बढ्न खोजेको र वडातहमा आफ्नै उम्मेदवार खडा गरेको हुँदा उक्त कार्य गठबन्धनको मर्म विपरित रहेको कांग्रेस नगर सभापति छविलाल शर्माले बताउनुभयो । एकिकृत समाजवादीका प्रतिनिधि उपस्थित नभएको उक्त बैठकमा तीन दलबीच नगर प्रमुख, उपप्रमुखसहित वडा तहसम्मै भागबण्डा गरेर अघि बढ्ने सहमती भएको शर्माले जानकारी दिनुभयो ।
केन्द्रीय गठबन्धनले उपमहानगरपालिकाको प्रमुख पद माओवादी र उपप्रमुख पद कांग्रेसलाई दिने निर्णय गरेको थियो । उक्त निर्णय अस्विकार गर्ने बताउदै आएको कांगेसको नगर समितिले अन्ततः उपमेयरसहित वडातहमा भागबण्डा गरेर अघि बढ्न सहमत देखिएको थियो । कांग्रेसले सहमती जनाएसंगै वडातहको भागबण्डाका लागि पाँच दलबीच छलफल भएपनि निष्कर्षमा पुग्न सकेको थिएन् ।
भागबण्डाका लागि बसेको बैठकमा माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा बिजयी भएको १० सहित थप तीन वडामा दावी गरेको थियो । जनता समाजवादीले १२ र एकिकृत समाजवादीले १० वटा वडा दाबी गर्दा जनमोर्चाले तीन वटा वडा माग गरेको थियो । कांग्रेसले भने १५ वटा वडा आफूले पाउनुपर्ने अडान लिएको थियो ।
यसैबीच जिल्लाको दुई उपमहानगरपालिका मध्ये अत्यन्तै चाँसोका साथ हेरिएको बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको उम्मेदवार भने एमालेले टुंगाउँन बाँकी राखेको छ ।
एमाले केन्द्रीय सचिवालय बैठकले जीतपुरसिमराको समेत निर्णय गर्ने अपेक्षा गरिएको थियो । तर लामो समयको छलफलपछि एमालेले मधेस प्रदेशको जीतपुरसिमरा र जनकपुरको उम्मेदवार टुंग्याउँन बाँकी राखेको हो । जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख पदका लागि नगर उपप्रमुख सरस्वती चौधरी सहित एमाले बारा सचिवालय सदस्य मनोज पौडेल, जिल्ला कमिटी सदस्य कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिल मैनाली, राधेश्याम सिवाकोटी, महादेव चौधरी, प्रह्लाद साह र विश्वनाथ लामिछानेको नाम सिफारिस गरिएको छ ।
यसैगरी उपप्रमखमा भोला अधिकारी, कमला घिमिरे, रेनु रिमाल, सरिता चौधरी, अशोक लामाको नाम सिफारिस भएको छ ।