वीरगन्ज,सत्ता गठबन्धनको भागबण्डा सहमति भएको छ । पोखरा महानगरपालिकामा नेपाली कांग्रेसले दाबी छोडेपछि गठबन्धनको भागबण्डा सहमति नजिक पुगेको हो । गण्डकी प्रदेशबाट आएका नेताहरूसँग पार्टी सभापति शेरबहादुर देउवाले बालुवाटारमा गरेको छलफलमा पोखरा महानगर छाड्न आग्रह गरेपछि सहमति जुटेको हो । अब कांग्रेसले पोखरा छोडेसँगै पोखरा महानगरपालिका नेकपा एकिकृत समाजवादीले पाएको छ । पोखरा महानगरको विवाद सल्टिएसँगै अब गठबन्धन लगभग पक्कापक्की हुने भएको छ । जुन हिसावले वीरगञ्ज महानगरपालिकामा जसपाले नै पाउने लगभग निश्चित भएको छ । अब वीरगञ्जमा जसपाबाट राजेशमान सिँहको सम्भावना बढेर गएको नेताहरु बताउँछन् । सोमबार नै भएको सहमतिअनुसार पोखराबाहेक अन्य महानगरमा भने तालमेलको सहमति जुटेको थियो । जसअनुसार वीरगन्ज जसपा तथा भरतपुर माओवादीलाई दिने सहमति भएको थियो । बाँकी ४ महानगर भने काँग्रेसले लिने समझदारी भएको थियो ।
यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अहिले सम्म गठबन्धनको बारेमा कुनै निर्णय गरेको छैन । नेकपा एमालेसँग तालमेल हुने चर्चा चलेपनि अहिलेसम्म कुनै आधिकारीक निर्णय नभएको लोसपाका केन्द्रिय अध्यक्ष राजेन्द्र महतोले बताउनुभयो । केन्द्रमा र स्थानीय तहमा लोसपाले नेकपा एमालेसँग तालमेल सम्बन्धमा कुनै निर्णय नगरेको महतोको भनाई छ । प्रमुख विपक्षी दल नेकपा एमालेसँग तालमेल गर्ने सम्बन्धमा कुनै पनि निर्णय नभएको लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताउनुभयो । अध्यक्ष सोनलले पार्टीले अहिलेसम्म कुनै आधिकारीक धारणा सार्वजनिक नगरेको बताउनुभयो । यता लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले भने छलफलको क्रममा रहेको बताउनुभयो । नेकपा एमालेसँग तालमेल गर्नका लागि छलफल जारी रहेको बताउँदै झाले १÷२ दिनभित्रमा सहमति गरेर आधिकारीक निर्णय सार्वजनिक उहाँले बताउनुभयो । नेकपा एमाले पर्साका इन्चार्ज प्रभु हजराले तालमेल गर्ने विषयमा छलफल जारी रहेको बताउनुभयो । एमालेले वर्तमान मेयर विजय सरावगीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।