नरेश गुप्ता
बरियारपुर,स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा बारा जिल्लामा उम्मेदवाहरुले चुनावी चहलपहल पनि बढाएका छन ।
जिल्लाका १६ वटै स्थानीय तहमा यतिबेला चिया तथा पान पसल र सार्वजनिक स्थानहरुमा आगामी बैशाख ३० गते हुने भनेर निर्वाचन आयोगले घोषणा गरेको स्थानीय तहको चुनावको चर्चा परिचर्चा सुरु भएको हो ।
निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेपछि स्थानीय तहमा यतिबेला गाउँपालिका र नगरपालिकाको प्रमुख, उपप्रमुख वडा अध्यक्षमा उठने उम्मेदवारको बारेमा चर्चा परिचर्चा हुन थालेको छ । स्थानीय तहको निर्वाचनमा भाग लिन बारामा ३५ वटा राजनीतिक दलले निर्वाचन आयोगको कार्यालय बारामा दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ओमप्रकाश चौधरीले बताउनुभयो ।
जिल्लाको ऐतिहासिक नगरी सिम्रौनगढ नगरपालिकामा नगर प्रमुख पदको लागि लोसपा नेपाल सिम्रौनगढ नगर कमिटी अध्यक्ष किशोरी जैसवालले चुनाव प्रचार शुरु गर्नुभएको छ । जैसवाल नगर प्रमुखको प्रत्यासीको रुपमा चुनावी प्रचारप्रसार कार्यलाई तीव्रता दिदै केही दिनदेखि घरदैलो कार्यक्रममा व्यस्त हुन थाल्नुभएको छ ।
त्यसैगरी पचरौता नगरपालिकामा पनि नगर प्रमुखको प्रत्यासीको रुपमा जलान्धर सिंहले पनि चुनावी प्रचारलाई अघि बढाउनु भएको छ । सिंहले नेकपा एमालेबाट नगर प्रमुखको चुनावमा उठने तयारी गर्नुभएको हो । उहाँले पनि मतदाता भेटघाट र घरदैलो कार्यक्रम सुरु गर्नुभएको हो ।
स्थानीय तहमा निर्वाचित प्रतिनिधिले पाँच वर्षमा जनतासंग गरेको प्रतिबद्धता काम ,बिकास निर्माणका कार्य , कृषि ,शिक्षा ,युवा स्वरोजगारको अधुरो कार्यक्रमलाई प्राथमिकता राखी प्रत्यासी उम्मेदवारहरु एजेन्डा उठाई यति बेला घरदैलो कार्यक्रममा जनता संग प्रत्यक्ष रुपमा भेटेर समस्याको बारेमा जानकारी लिइएको पचरौता नगरपालिकाको नगर प्रमुख प्रत्यासी उम्मेदवार जलान्धर सिहले बताए । त्यसैगरी बाराको महागढीमाई नगरपालिकामा समेत चुनावी चहलपहल शुरु भएको छ ।
महागढीमाई नगर प्रमुखमा नेपाली कांग्रेस पार्टीबाट उपेन्द्रप्रसाद यादवले आगामी निर्वाचनमा पनि नगर प्रमुख पदमा दबेदारी प्रस्तुत गर्नुभएको छ । यादव अघिल्लो पटक नगर प्रमुख दलमा निर्वाचित बाहलवाला मेयर पनि हुनुहुन्छ । त्यसैगरी सो नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट रामबाबु यादव, जनता समाजवादी पार्टी नेपालबाट राजाबाबु जैसवाल, नेपाली कांग्रेस पार्टीबाट अर्का राजेश साह, लोसपा नेपालबाट रामचन्द्र साह तेलीले पनि नगर प्रमुखमा उम्मेदवार बन्ने आकाक्षा प्रस्तुत गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसंगै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेकपा माओबादी केन्द्र, जसपा नेपाल, लोसपा नेपालले नियमित रुपमा जस्तै विभिन्न स्थानीय तहमा चुनाव लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्दै उम्मेदवारहरुको छनौटको लागि गृहकार्य थालेका छन ।
स्थानीयबासिन्दाहरुको भने स्थानीय तहमा पार्टीभन्दा माथि उठेर ईमान्दार, कर्मठ र विकासप्रेमी उम्मेदवारलाई जिताउनु पर्ने बताएका छन ।