पुष्पराज खतिवडा
बारा,जिल्ला फुटबल संघ बाराले आयोजना गरेको ‘ए’ डिभिजन फुटबल जिल्ला लिगका क्रममा व्यापक कमजोरी गरेको आरोप लागेको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वामा रहेको मौवादेवी युवा क्लबले रामचन्द्र लामाको नेतृत्वमा रहेको जिल्ला फुटबल संघ बाराले कोल्हबी नगरपालिका वडा नम्बर १ खैरामा आवश्यक तयारी नै नगरी प्रतियोगिता आयोजना गरेको आरोप लगाएको छ ।

बुधवार क्लबका अध्यक्ष निर्मलकुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा जिल्ला फुटबल संघले प्रतियोगिता संचालनमा गम्भीर लापरवाही गरेको उल्लेख छ । यादवका अनुसार उपयुक्त खेल मैदान छनोट नभएको, उपचार सामग्री, एम्बुलेन्स, स्टेचर, बलब्याय तथा स्वयम् सेवकको व्यवस्था नगरिएको, आयोजकसहित जिम्मेवार पदाधिकारीहरुको उपस्थिति नभएको र आवश्यक सुरक्षाको प्रबन्ध नगरिएको भनिएको छ ।त्यसैगरी राजनीतिक पूर्वाग्रह राखेर खेलमा सहभागी टिम र खेलाडीहरुमाथि भेदभाव र दुव्र्यवहार गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै अनुशासनहीन रेफ्रीद्वारा खेल खेलाइएको र रेफ्रीमार्फत नै विवाद उत्पन्न गराइ खेलाडीबीच झगडा गराइएको, समयको समेत विचार नगरी अत्याधिक गर्मीको समयमा खेल सञ्चालन गरेको जस्ता आरोप लगाइएको छ । जिल्ला लिग जस्तो प्रतियोगिता लापरबाही ढङ्गबाट आयोजना गरेको मौवादेवी युवा क्लबले बताएको छ ।
प्रतियोगिता अन्तरगत मंलगवार मौवा देवी युवा क्लब बडहर्वा र निजगढ युवा क्लबबीचको सेमिफाइनल खेल थियो । सो क्रममा रेफ्री र दर्शकबीच विवाद हुँदा कुटाकुट समेत भएको थियो ।फुटबल हेर्न पुगेका दर्शक र क्लबका टिम व्यवस्थापकले रेफ्री निलकमल चौधरीका कारण कुटाई खाने अवस्था सृजना भएको र सो कार्यको जति भत्सर्ना गर्दा पनि कमै हुने जनाइएको छ ।क्लबले प्रतियोगिताका रेफ्रीहरुको भुमिकाप्रति समेत प्रश्न उठाएको छ । उसले प्रतियोगिताका दौरान देखिएका कमी कमजोरीले समग्र फुटबल खेलको बदनाम गराएको भन्दै विज्ञप्तिमा “खेलकुदमा रेफ्री जिम्मेवार, सहनशील हुनुपर्ने हो । तर उनी आफै मैदानभित्रबाट अपशब्द प्रयोग गर्दै दर्शकसँग भिड्न जाइलाग्नुले आयोजकले छनौट गरेका रेफ्रीको स्तर छर्लङ्ग भयो ।” क्लबले भनेको छ ।विज्ञप्तिमा जिम्मेवार संस्थाले आयोजना गरेको प्रतियोगितामा आवश्यक तयारी, समय, मौसम र स्थानको समेत छनौटमा गैह्जिम्मेवारी देखाइएको उसले आरोप लगाएको छ । प्र्रतियोगिताका नाममा झारा टार्ने गरी आवश्यक सुरक्षा व्यवस्था समेत नगरी झैझगडाको वातावरण सिर्जना गराइएकोप्रति खेद प्रकट गर्दछौं भनिएको छ ।जिल्ला फुटबल संघ बाराले गत जेष्ठ १९ गतेदेखि ‘ए’ डिभिजन फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।



















