कलैया,सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराले २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा जिल्लाको पचरौता नगरपालिकाका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।आइतबार बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर १ हरपुरस्थित मुसहर बस्तीमा रहेको श्री दलित प्राथमिक विद्यालयका विपन्न वर्गका १२४ जना बालबालिकालाई कपडा वितरण गरिएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले बालबालिकालाई कपडा वितरणका साथै खाना खुवाइएको जानकारी दिनुभयो । उहाँले विद्यालयको भवनमा रङरोगन गरिएको समेत बताउनुभयो ।कार्यक्रमको प्रमुख अतिथि पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवारले सशस्त्र प्रहरीले आफ्नो स्थापना दिवसको अवसरमा विपन्न बालबालिकालाई सहयोग गर्नु सराहनीय भएको बताउँदै विद्यालयलाई सुरक्षित बनाउन अगाडिको पर्खाल निर्माण गरिएको जानकारी दिनुभयो ।
उहाँले आगामी आर्थिक वर्ष २०८३-०८४ मा उक्त विद्यालयमा चार कोठे नयाँ भवन निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । त्यस्तै, दलित बस्तीको सडक छिट्टै ढलान गरिने र वडामा स्वास्थ्य, शिक्षा, सडक, कृषि लगायतका क्षेत्रका लागि ८ करोड रुपैयाँको काम भइरहेको जानकारी दिनुभयो ।विद्यालयका प्रधानाध्यापक बजरंगी माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष विनयकुमार सिंह, इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेव साह, विद्यालयका शिक्षक, अभिभावक, स्थानीयबासी र सञ्चारकर्मीहरू उपस्थित थिए । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायब निरीक्षक विक्रम पौडेलले गर्नुभएको थियो ।
यसैगरी, जिल्लाको कलैया उपमहानगरपालिका– १६ स्थित श्री विद्यामन्दिर जोगिन्दर सामुदायिक आधारभूत विद्यालयका बालबालिकालाई पनि भलिबल, फुटबल र अन्य खेलकुद सामग्री वितरण गरिएको एसपी केसीले जानकारी दिनुभएको छ ।


















