नरेश गुप्ता
बरियारपुर,बिश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल पालले एकैपटक १८ जना आफन्तलाई नोकरीमा भर्ति गरेको खुलासा भएको छ । पालले आफ्नो नाता र जातीमा पर्ने व्यक्तिहरु छानिछानी करार सेवामा नोकरी दिलाएका हुन ।
स्थानीय सरकार संचालन ऐन २०७४ लागू भएपछि गाउँपालिका अध्यक्ष पालले आफ्ना नजिकका मानिसलाई कर्र्मचारीमा नियुक्ति गरेर पालिकालाई भर्तिकेन्द्र बनाएका छन ।
स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम करार सेवामा खुला विज्ञापन गरी नियुक्ति गर्नुपर्ने प्रावधान भएपनि अध्यक्ष पालले गोप्य रुपमा सूचना निकालेर नातेदारहरुलाई गाउँपालिका र वडा कार्यालयमा नियुक्ति गरेका छन । तत्कालीन बिश्रामपुर गाउँपालिका प्रशासकीय अधिकृत अशोककुमार क्षेत्री र अध्यक्ष पालको मिलोमतोमा २०७६ साल जेठ ७ गते १८ जना व्यक्तिलाई नियुक्ति गरेका छन । उनले बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ निबासी निराजन पाल र अबधेश पाललाई कार्यालय सहयोगी र वडा नम्बर ५ निबासी रिन्कु पाल, रौतहट जिल्ला निबासी रंजित पाल, बिश्रामपुर वडा नम्बर ३ की बबिता पाल, विकास पाल, धर्मेन्द्र पाल, जितेन्द्र पाल, धिरजकुमार पाललाई कम्प्युटर अपरेटर तथा जोखु राउत भेडिहर, वडा नम्बर ५ निबासी नागेन्द्र पाललाई चौकिदारमा नियुक्ति दिएका हुन ।
गाउँपालिका अध्यक्ष पालले ठुलो संख्यामा आफ्ना नातेदार र नजिकका मानिसलाई करारमा नियुक्ति गरेपछि उनको सबैतिर आलोचना भइरहेको गत स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट बिश्रामपुर गाउँपालिकामा अध्यक्ष पदका प्रत्यासी रहनु भएका धर्मदेव यादवले जानकारी दिनुभयो ।