निजगढ,विमानस्थल निर्माणको माग राखेर निजगढस्थित शहिद चोकमा सुरु भएको रिले अनसन शनिवार पाँचौंंं दिन पनि जारी रहेको छ । विमानस्थल निर्माण नगर्ने अदालतको आदेशपछि आन्दोलनमा उत्रिएको निजगढ सार्वजनिक सरोकार समितिको आह्वानमा निजगढस्थित पूर्वपश्चिम राजमार्गको शहीद चोकमा सुरु भएको अनशनमा अमृत अधिकारी, राजन अधिकारी, अंकित स्याङ्गतान, प्रेमबहादुर मोक्तान, देवलाल सिंह वाइवा, कृष्णप्रसाद अधिकारी, मुक्तिनाथ अधिकारी, माधव सापकोटा, निरन्जन घिमिरे र बुद्धिप्रसाद रिमाल सहभागी छन ।
सरोकार समितिको धर्ना कार्यक्रममा बारा जग्गा तथा आवास विकास संघ, नेपाल निर्माण व्यवसायी संघ कलैया, नेपाल निर्माण व्यवसायी संघ वीरगन्ज, नेपाल लेखापढी कानुन व्यवसायी एशोसियशन सिमरा, नेपाल लेखापढी कानुन व्यवसायी एशोसियशन कलैया, नेपाल लेखापढी कानुन व्यवसायी एशोसियशन वीरगन्ज लगायत रियल स्टेट व्यवसायीहरुले पनि ऐक्यवद्धता जाहेर गरेका छन । सरोकार समितिले थालेको आन्दोनलमा व्यवसायीहरुले ब्यानर राखेर संयुक्त रुपमा ऐक्यवद्धता जाहेर गरेका हुन ।
त्यसैगरी पूर्वपशिचम लोकमार्गको शहिद चोकमा हुदै आएको चक्काजाम र धर्ना शनिवार पनि जारी रहेको छ । स्थानीयले राजमार्गको शहिद चोकमा दिउसो ३ बजेदेखि साँझ ५ बजेसम्म धर्ना र चक्काजाम गरेका थिए । चक्काजामका कारण राजमार्गमा चल्ने साना, ठूला यात्रुवहाक र ढुवानीका सयौं साधनहरु रोकिएका थिए । अदालतको निर्णय पुनरावलोकन नभएसम्म आन्दोलन जारी राखिने सरोकार समितिका सदस्य विनोद भारतीले बताउनुभएको छ ।
विमानस्थल निर्माण नगर्ने भनेर सर्वोच्च अदालतले गत जेष्ठ १२ गते निर्णय गरेपछि सरोकार समितिले निजगढस्थित राजमार्गको शहिद चोकमा चक्काजाम र प्रदर्शन गर्दै आएको छ ।