नरेश गुप्ता

बरियारपुर,बारा सदरमुकाम कलैयामा अवस्थित प्रादेशिक अस्पताल अगाडिको सडकबाट उडेको धुलोले अस्पतालका स्वास्थ्यकर्मी र बिरामीहरुले समस्यामा बेहोर्दै आएका छन ।
सडकबाट उडेको धुलो पसेर अस्पतालको ईमरजेन्सी, फार्मेसी र बिरामको बेडमा समेत प्रदुषण बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।
अस्पतालको ईमर्जेन्सी शाखा अगाडिको सडकबाट दैनिक रुपमा धुलो उडने गरेको छ । फोहोर धुलोले ईमर्जेन्सी, फार्मेसी शाखामा काम गर्ने कर्मचारी र उपचारमा आएका बिरामीसमेत प्रभावित बनेका हुन । ‘औषधि, उपकरण र बेडसमेत धुलाम्मे हुन्छन, एक स्जास्थ्यकर्मीले भने, तर नियन्त्रणकोलागि कसैले पनि चासो राखेका छैनन ।’
सडकको धुलो उडेर अस्पतालको दैनिक काम समेत प्रभावित हुदै आएको भएपनि त्यसलाई नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको हो । सडकबाट गुडने सवारी साधनले धुलो उडाएर काम गर्न समस्या भएको अस्पतालका सुब्बा कबिन्द्र प्रसादले बताउनु भयो । अस्पताल जस्तो संवेदनशील स्थानमा पक्की सडक नहँदा धुलो उडेर समस्या बेहोर्नु परेको उहाँको भनाइ छ ।
कलैया अस्पतालअगाडि रहेको मुख्य सडक र अस्पताल परिसरभित्रको सडकमा पनि कालोपत्रे नहुँदा अस्पतालको एम्बुलेन्स आवतजावतमा पनि कठिनाइ हुदै आएको बताइएको छ । जिल्लाको एकमात्र प्रादेशिक अस्पतालको सरसफाइ र संरक्षणमा कलैया उपमहानगरपालिकाले कुनै चांसो नदिएको चिकित्सकहरु बताएका छन ।
कलैया अस्पतालले ओ पि डि सेवा, कोभिड १९ व्यवस्थापन एव रोकथाम, शल्यक्रिया, सुरक्षित गर्भवतीलगायतका सेवा प्रदान गर्दै आएको छ । सर्वसाधारण जनताको पहुँचमा रहेको भनिएको कलैया अस्पतालमा चाडै नै डाईलोसिस सेवासमेत संचालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा गौरव महतोले बताउनु भयो । सिमित स्रोत साधनका बाबजुद गुणस्तरीय सेवा उपलब्ध गराउदै आएको भएपनि अस्पताललाई जिल्लामा रहेका स्थानीय तहले बेवास्ता गरेको चिकित्सकहरुले गुनासो गरेका छन ।


















