मनहर्वा,सिमरामा आइतवारबाट स्थानीय खानाको परिकार उपलब्ध गराउने उद्देश्यकासाथ विविसा होटेल एण्ट रेष्टुरेण्ट संचालनमा आएको छ ।
मकवानपुरका विजय लामाले होटेल संचालनमा ल्याउनु भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित यसअघि होटेल सान्सा संचालन भएको स्थानमा लामा दम्पतीले नयाँ ढंगमा व्यवसाय संचालन सुरु गर्नुभएको हो ।
बैदेशिक रोजगारीबाट फर्किएका लामा दम्पतीले विदेश नगइ आफ्नै मुलुकमा स्वरोजगार बन्ने सोचका साथ करिब १० लाख रुपैँयाको लगानीमा व्यवसाय विस्तार गरेको बताउनुभयो । यसअघि लामा दम्पतीले एयरपोर्ट रोडमा विविसा खाजा घर संचालन गर्दै आएका थिए ।
‘भविष्यमा अतिथि घर समेत संचालन गर्ने उदेश्य राखेका छौं, लामाले भन्नुभयो, नयाँ ढँगबाट सुरु भएको होटलमा हाल खाना, चिया ,खाजा र मदिरा उपलब्ध हुने छ ।’ विविसा होटलमा लोकल कुखुराको मासु, मकै तथा फापरको ढिँडो, थकाली खाना र सेकुवा हुनेछ । खसी, माछा, बंगुर, राँगा र बट्टाईका विभिन्न परिकार समेत उपलब्ध हुनेछ । मदिराका पारखीका लागि विभिन्न व्राण्डमा उपलब्ध गराइने लामाले जानकारी दिनु भयो ।
विषेश गरी कारखाना मजदुर, यातायातका मजदुर, कर्मचारीसँगै सिमरा, डुमरवाना, जीतपुर आसपासका ग्राहकको मन जित्ने योजनामा होटेल संचालनमा ल्याइएको हो । सुपथ मुल्यमा पारिवारिक वातावरणमा सेवा दिइने विजयकी पत्नी मायाले बताउनु भयो ।