सिमरा,बारा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणको लागूऔषध गाँजा र अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।
अफिमसहित पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका २ बैकुण्ठका ४५ वर्षीय भीमलाल मोक्तान रहेका छन् ।
ईलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले उनलाई जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा चोकमा ३ किलो ४४ ग्राम अवैध लागूऔषध अफिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

वीरगञ्ज पथलैया खडकखण्डको फुटपाथमा खैरो रङको झोलाभित्र अफिम बोकेर हिँड्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।लागूऔषधको कसुरमा म्याद लिएर अनुसन्धान कार्य अघि बढाइएको छ ।त्यसैगरी प्रहरीले ठुलो मात्रामा लागूऔषध गाँजासहित दुई वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले ६३ किलो लागूऔषध गाँजासहित मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज खजानी बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला बारा, सुवर्ण गाउँपालिका ३ बकतौरास्थित नेपालबाट भारततर्फ जाँदै गरेको बा.प्र.०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । मोटरसाईकल चालक भने फरार रहेका छन् ।बरामद भएको लागूऔषध र मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply