प्रदेशसभाको कार्यकाल सकिनै लाग्दा प्रदेश २ मा बल्ल स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयले प्रवेश पाएको छ । स्थायी राजधानीका विषय यसअघि नै टुंगिनु पर्ने भएपनि दलहरुबीचको आपसी बेमेलका कारण बल्ल प्रदेश सभामा यसले प्रवेश पाएको छ । प्रदेश २ को अस्थायी राजधानी अहिले जनकपुरमा छ र धेरैले स्थायी जनकपुरलाई नै बनाउन माग गरेका छन् ।
यही आधारमा प्रस्ताव पनि पेस भएका छन् तर झिनो नै भनौं थोरै संख्याले मात्रै वीरगन्जलाई पनि राजधानीको माग गरेका छन् । वीरगन्ज मुलुकको आर्थिक राजधानी होला तर मुल कुरा के हो भने मधेश हिजो आन्दोलनका क्रममा कन्द्रबिन्दु बनेको थियो र बनाइएको थियो । वीरगन्जले धेरै क्षति ब्यहोरेको नाताले पनि वीरगन्ज स्थायी राजधानी आवश्यक हो ।
तर यतिको आधारमा मात्र वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउने कुरा संभव देखिदैन । यदि वीरगन्ज राजधानी नभए बारा र पर्सा प्रदेश २ बाट अलग हुने बहस पनि यदाकता भएको छ । वास्तवमा भूगोलको आधारमा नक्सांकन नहुँदा २ नम्बर प्रदेशको भूगोल स्वभाविक छैन । यो प्रदेशमा पनि पहाड र मधेश दुबै मिलाउन आवश्यक थियो, मिलाइएन अब बहस यही भएको छ । वैज्ञानिक भनेको बारा र पर्सालाई बागमती प्रदेशमा गाभेर रामेछाप र सिन्धुलीलाई २ नम्बर प्रदेशमा गाभ्दा राम्रो हुनेछ अनि जनकपुर पनि राजधानी नभइ नयाँ भूगोलको मध्य भागमा पर्ने बर्दीवासतिर राजधानी कायम गर्नु राम्रो हुनेछ ।