नरेश गुप्ता

बरियारपुर,जाडो बढेसंगै बारा जिल्लामा आगलागीका घटनामा वृद्धि भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर.७ स्थित बलुवा टोलमा बस्ने मन्जुर मियाको कच्ची घरमा आगोलागी भएको छ । खाना पकाउने चुल्होमा बालेको आगो सल्किएर घरमा आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको प्लास्टिकको पाइप २ बन्डल, लत्ताकपडा र भाडाबर्तनसमेत जलेर पचास हजार बराबरको क्षेति भएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षेती नभएको र आगोलाई स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका थिए । त्यसैगरी आगो ताप्ने क्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदर्शाटोल बस्ने रामु मगरको वर्ष ४६ की श्रीमति गिता देवी मगर घाइते बनेकी छिन ।

आफ्नै चिया पसलमा दाउराको चुलोमा आगो बाली ढाड सेक्ने क्रममा पछ्यौरीबाट सल्किएको आगोले जलेर गिता घाइते बनेकी हुन । उनको टाउकोदेखि खुट्टाको तल्लो भागसम्म आगोले जलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । घाइतेको कलैया अस्पतालमा उपचार भैइरहेको छ । त्यसैगरी आगलागीबाट जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ गढीमाई कोलोनी.बस्ने अधेलाल पासवानको कुखुराको खोरमा पनि आगलागी भएको छ ।

आगो ताप्न बालेको घुरबाट खोरमा आगलागी हुँदा खोरसहित २० वटा बोईलर कुखुरा, कुखुराको दाना, लत्ताकपडा र २ थान सिलिंग पंखा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो आगलागी बाट पासवानको २ लाख पचास हजार बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
यसैबीच बारा र पर्सासहित तराईका जिल्लाहरुमा शीतलहरसँगै चिसो बढ्दै गएको छ । चिसो बढ्दै गएसँगै नागरिकको दैनिकी पनि प्रभावित हुँदै आएको छ ।

सोमबार यो वर्षकै अहिलेसम्म सबभन्दा बढी जाडो भएको मौसम पूर्वानुमान कार्यालय सिमराले मापन गरेको छ । कार्यालय प्रमुख केशवराज खरेलकाअनुसार सोमबार बिहान सिमरा क्षेत्रको न्युनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो । आइतबार साँझको अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस मापन गरिएको प्रमुख खरेलले बताउनुभयो । सोमबारको न्युनतम तापक्रम यो वर्षकै सबभन्दा कम रहेको मौसम पूर्वानुमान कार्यालय सिमराले जनाएको छ ।

गर्मीमा अत्यधिक गर्मी र चिसोमा अत्यधिक चिसो हुने तराईका जिल्लामा शितलहर सुरु भएसँगै हुस्सु लाग्ने क्रम पनि सुरु भएको छ । दिउँसोको तुलनामा बिहान र बेलुकीपख चिसो बढी हुने गरेको छ । अत्यधिक चिसोका कारण सर्वसाधारण घर बाहिर निस्कने क्रम घटेको छ । बारा र पर्साका मुख्य सहर÷बजारहरुमा मानिसको आवागमन निक्कै पातलो देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here