नरेश गुप्ता
बरियारपुर,सुरक्षित आप्रवासन परियोजना सामीले बारामा ४४ लाख ३६ हजार क्षेतिपूर्ति दिलाउन सफल भएको छ ।
विभिन्न समयमा वैदेशिक रोजगारको लागि गएकाहरुसंग म्यानपावर कम्पनीबाट ठगीमा परेकाहरुले दिएको उजुरीको आधारमा सामी परियोजनाले बैदेशिक रोजगार बोर्डबाट २० जना सेवाग्राहीहरुको क्षेतिपूर्तिबापत सो रकम उपलब्ध गराइएको सुरक्षित बैदेशिक रोजगारको लागि आप्रवासी श्रोत केन्द्र बाराका संयोजक सरोज सिंहले जानकारी दिनुभयो ।
सामी परियोजनाले जिल्ला प्रशासन कार्यालय बारामा रहेको कार्यालयबाट बैदेशिक रोजगार सम्बन्धि सूचना दिन थालिएको केन्द्र बाराका शुनेश्वर साहले बताउनुभयो । आप्रवासी श्रोत केन्द्र कलैया बारामा कलैया उपमहानगरपालिका वडा नम्बर २५, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ र सिम्रौनगढ नगरपालिकाका वडा नम्बर ४ का युवाहरुले वैदेशिक रोजगारको सिलसिलामा समस्यामा परेको भन्दै केन्द्रमा जानकारी गराएका थिए ।
सामी परियोजनाले बैदेशिक रोजगार बोर्डको सहकार्यमा बाराका २० वटा समस्याको समाधान गरेको जनाएको छ । त्यसैगरी बिदेशबाट सात जनाको शव स्वदेश ल्याएको, बिदेशमा अलपत्र परेका १२ जनाको उद्धार गरेको, जेलभित्र रहेका ६ जनामध्ये ४ जनालाई निकाल्न सफल भएको आप्रवासी श्रोत केन्द्र कलैयाले जनाएको छ ।
कलैयास्थित सामी परियोजनाले सीप तालिम लिएरमात्र विदेश जान केन्द्रले सेवाग्राहीलाई अभिप्रेरित गर्ने गर्दै आएको छ । साथै सामी परियोजनाले निःशुल्क सीपमुलक तालिमको लागि पनि सिफारिस गर्ने गरेको छ । सेवा प्रदायक दलित जनजाति उत्थान केन्द्र, कलैया उपमहानगरपालिकाको सहकार्य र हेल्भाटसको सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामीले बारामा काम गर्दै आएको छ ।