मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका उद्योगले उद्योगबाट निस्कने फोहोर मैला सिधै मिसाएका कारण यहाँका नदीहरु प्रदुषित बन्दै गएका छन् ।उपमहानगरपालिकामा देशकै प्रतिष्ठित उद्योगहरु संचालनमा रहेपनि फोहोरको उचित व्यवस्थापन नगरेर स्थानीय खोला नाला प्रदुषण गर्दै आइरहेका छन् । यस क्षत्रेमा रहेको जगदम्बा स्टील, हुलास स्टील, अशोक स्टील, गणपति वनस्पती उद्योग, सूर्या नेपाल, हाम आईरन, आरती सोप, पशुपती कत्था मिल, रारा चप्पल, राजेश मेटल, शिवशक्ति घिउ, कृष्ण घिउ, भगवती स्टील, हनुमान तेल लगायत उद्योगहरुले प्रदुषित पानी प्रशोधन नगरी यहाँका खोलामा छोड्दै आएकाले प्रदुषण बढेको हो ।खोला प्रदुषित हुँदा आसपासमा बासोबास गर्ने सर्वसाधारणमा विभिन्न रोगको प्रकोप बढेको स्थानीयले बताउँदै आएका छन् ।उद्योगहरुको छेउछाउमा नदी खोला प्रदुषित भएको सहजरूपमा देख्न सकिन्छ । सरकारको नीति नियम अनुसार खोला नाला सफा सुन्दर र हराभरा राख्नुपर्छ भने अर्कोतर्फ उद्योगहरुको लापरबाहीका करण स्थानीय चिन्तित बन्दै गएका छन् । खोलाको पानी चौपायलाई पनि खुवाउँदा र भैसीलाई नुहाउँदा शरीरमा फोका आउने र पशुपंक्षी समेत मर्ने गरेको स्थानीय प्रभु माझीले बताउनुभयो । खोलाको पानीले खेती पाती गर्न पनि नसकिएको अर्का स्थानीय किसान लिलेन्द्र चौधरीले दुखेसो पोख्नुभयो । सिर्सिया खोलामा आफू सानो हुँदा नुहाउने गरेर र सोही पानी खाने गरेको बताउने स्थानीय प्रमोद चौधरी अहिले खोलाको पानी छुदाँ पनि रोग लाग्ने अवस्था आएको बताउँनुहुन्छ ।विगत तीन दशक यतादेखि जीतपुरसिमरा क्षेत्रमा तीव्र रुपमा उद्योग स्थापना भएका छन् । तर, प्रायः सबै कलकारखानाहरूले फोहरमैलाको उचित व्यवस्थापन नगरी सोझै र केहीले नदेखिने गरी भूमिगत नालाबाट सिर्सिया नदीमा खसाल्ने गरेका छन् ।

Leave a Reply