पर्सा । झण्डै दुई करोड बजेट अभावको कारणले भारतसँग सीमा जोड्ने वीरगन्ज– रक्सौल सडक खण्डअन्तर्गतको रजत जयन्तीचोकमा पर्ने जीर्ण सडक कालोपत्र हुन सकेको छैन । व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका योजना कार्यालयले गत पुसमा यो सडकखण्ड निर्माण गर्ने ठेक्का अघि बढाएको थियो । तर, अहिले बजेट अभावलाई देखाउँदै यो सडकको निर्माण कार्य अघि बढ्न सकेको छैन । केही समय अघि निर्माण कम्पनी निर्माणस्थलमा खटिए पनि अहिले भने सडक लथालिङ्ग अवस्थामा रहेको छ ।
योजना कार्यालय र निर्माण कम्पनीबिच २०८० पुस २१ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले २०८१ सालको असार २१ गतेभित्रै सडक निर्माण सम्पन्न गर्नुपर्नेछ । यो सडकखण्डको लागत भने रु एक करोड ८० लाख रहेको छ । योजना प्रमुख यादवले निर्माण कम्पनीलाई सडकको काम गर्न अनुरोध गर्दै आइरहेको बताए । यो सडककै कारण दिनहुँजसो एक दर्जनभन्दा धेरै सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । यो सडकखण्डको चौडाइ १४ मिटरअर्थात् चार लेनको सडक कालोपत्र गर्न लागिएको हो ।


















