वीरगन्ज,वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले अक्सिजन प्लान्ट स्थापनाका लागि जनताबाट सहयोगको अपील गर्नुभएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणले गर्दा वीरगन्जमा बढ्दो अक्सिजन मागलाई पूर्ति गर्न अक्सिजन प्लान्ट स्थापनाका लागि नगरप्रमुख सरावगीले जनतासँग सहयोग माग गर्नुभएको हो ।
नगरप्रमुख सरावगीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै वीरगन्जका सरकारी तथा निजी अस्पतालमा पर्सा, बारा, रौतहट लगायत प्रदेश नम्बर २ भरिका कोरोना सङ्क्रमितहरुको उपचारमा लाग्ने अक्सिजनको मागलाई पूर्ति गर्न अक्सिजन प्लान्ट स्थापना गर्नु पर्ने देखिएकोले जनस्तरबाट रकम संकलन गरेर अक्सिजन प्लान्ट स्थापना गर्ने योजना बनाएको उहाँले बताउनुभएको छ ।
उहाँले स्वचालित अक्सिजन प्लान्ट स्थपनाका लागि दुई करोडसम्म रकम खर्च हुने उल्लेख गर्दै महानगरपालिका एक्लैले उक्त रकम जुटाउन नसकेका कारण जनस्तरबाट पनि सहयोगको लागि अपील गर्नु परेको उहाँले बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ, यस माहामारीको कारणले गर्दा सबै अस्पतालहरुमा खचाखच सङ्क्रमितहरु भरिएका छन् । चाहे त्यो सरकारी अस्पताल होस अथवा निजी अस्पताल सबै कोरोना सङ्क्रमितहरुबाट भरिभराउ छन् । अस्पतालमा भर्ना भएका ५० प्रतिशत भन्दाबढी सङ्क्रमितहरुलाई हाइफ्लो अक्सिजनको आवश्यकता परिरहेको छ । सङ्क्रमितहरुको लागि माग बमोजिम अक्सिजन उपलब्ध नभएको खण्डमा दिनहुँ अनाहकमा उनीहरुले ज्यान गुमाउनु परेको छ ।’ उहाँले वीरगन्जस्थित नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाहीसम्मका सङ्क्रमितहरुको उपचार भइरहेको बताउदै सबै सङ्क्रमितहरुको स्वास्थ्य सुविधाका लागि वीरगन्ज महानगरपालिकाले विभिन्न दातृ निकायहरुको सहयोग र आफ्नो लगानीमा स्वाचालित अक्सिजन पलान्टका साथै सप्लाई गर्न पाइपलाइन, ३ सय केवीको ट्रान्सफर्मर र २० केवीको युपीएस जडान गर्दा दुई करोडसम्म खर्च लाग्ने नगरप्रमुख सरावगीले जानकारी दिनुभयो । उहाँले सहयोग गर्ने इच्छुक व्यक्ति, सङ्घसंस्थालाई महानगरपालिका कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।
यता पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य बिमल श्रीवास्तवले नारायणी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि दिएको २ करोडबाट महानगरपालिका कार्यालयले यसअघि नै अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अगाडि बढाइसकेको छ । महानगरपालिकाले उक्त प्लान्ट नारायणी अस्पतालमा असार २० गतेभित्र जडान हुने जनाएको छ । तर यसअघि नै प्रक्रिया शुरु भएको अक्सिजन प्लान्ट स्थापना नहुँदै महानगरपालिका प्रुमखले अर्काे अक्सिजन प्लान्ट स्थापनका लागि जनतासँग सहयोगको अपील गर्नुभएको हो ।यसैबीच वीरगन्ज, माइती नेपालले वीरगञ्ज महानगरपालिकालाई ५० हजार मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । माइती नेपाल वीरगन्ज शाखाकी प्रमुख संगीता पुरीले वीरगन्जका नगर प्रमुख विजयकुमार सरावगीलाई आइतबार सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा मेडिकल मास्क ४ सय थान, पीपीई सेट २५ थान, पञ्जा १ सय थान, फेसशिल्ड २५ थान र अक्सिमिटर २ थान हस्तान्तरण गरिएको माइती नेपालले जनाएको छ ।
पर्सामा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री महानगरपालिकालाई हस्तान्तरण गरिएको माइती नेपाल वीरगन्ज शाखा प्रमुख पुरीले बताउनुभयो ।