जनकपुरधाम,प्रदेश २ सरकारले प्रदेशमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेशका तत्कालिन प्रमुख डा. राजेश झा ‘अहिराज’ ले फिर्ता पठाएको विधेयक अहिलेका प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार प्रमाणीकरण गर्नुभएको हो ।

२६ असोज २०७७ मा पारित भएको यो विधेयक प्रमाणीकरणका लागि तत्कालिन प्रदेश प्रमुख डा. झा समक्ष जाँदा उहाँले केही सुझाव दिँदै विधेयक प्रमाणीकरण नगरी फिर्ता गरिदिनुभएको थियो । उहाँले प्रदेशमा रहेका प्रदेश बाहिरका स्वदेशी र विदेशीलाई समेत प्रदेश पदकबाट सम्मान गर्न सक्ने व्यवस्था थप गर्न सुझाव दिनुभएको थियो ।

यद्यपी सो विधेयक अहिले जस्ताको तस्तै प्रमाणीकरण भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो । ‘पहिला जुन विधेयक पारित भएको थियो, त्यही विधेयक हुबहु पारित भयो’ उहाँले भन्नुभयो ।

प्रमाणीकरण भएको विधेयकमा १५ विधामा पदक राखिएको छ । जसमा प्रदेश रत्न, मुख्यमन्त्री प्रज्वल तारा, रमेश महतो पदक, प्रदेश जनसेवा पदक, प्रदेश समाज सेवा श्री, प्रदेश मेघावी पदक, प्रदेश किसान रत्न पदक, प्रदेश विद्याभूषण, प्रदेश सेवा उत्कृष्ट पदक राखिएको छ ।

यस्तै, प्रदेश शैक्षिक उत्कृष्ट पदक, प्रदेश गौरव पदक, प्रदेश विभूति पदक, प्रदेश सुरवीर पदक, पर्यटन शिखर पदक, सामाजिक अभियन्ता पदक तोकिएको छ ।

आफ्नो क्षेत्रमा प्रदेशको गरिमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा बढाएको व्यक्तिलाई प्रदेश रत्न पदक, अनुकरणीय भूमिका निर्वाह गरेको व्यक्तिलाई मुख्यमन्त्री प्रज्वल तारा, प्रदेशको पहिचान, उत्थानको लागि योगदान पु¥याउने व्यक्तिलाई रमेश महतो पदक, जनस्तरमा लोकप्रिय र प्रशंसनीय काम गर्ने जनप्रतिनिधि र समाजसेवीलाई प्रदेश जनसेवा, समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण, दिगो विकास, समाज सुधार, सांस्कृतिक बिषयमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई प्रदेश समाज सेवा श्री, कला, भाषा, साहित्य, संगीत, शिक्षा, खेलकुद विद्यामा उत्कृष्ट योगदान गर्ने व्यक्तिलाई प्रदेश मेधावी पदक दिइनेछ ।

त्यसैगरी प्रदेशभित्रका विश्वविद्यालयबाट विद्यावारिधी गरी प्रदेशमा बसोबास गर्ने व्यक्तिलाई प्रदेश विद्याभूषण, इमान्दारीपूर्वक, उत्कृष्ट एवं प्रशंसनीय काम गर्ने प्रदेश सरकार मातहतका मन्त्रालय, कार्यालय तथा कर्मचारीलाई प्रदेश सेवा उत्कृष्ट पदक, शैक्षिक क्षेत्रमा सर्वाेत्कृष्ट योगदान पु¥याएका विद्यालय, प्रधानाध्यापक र विश्वविद्यालयका पदाधिकारीलाई प्रदेश शैक्षिक उत्कृष्ट, प्रदेश सरकारले मनोनित गरेका विभिन्न निकायमा सेवारत रही कुशलतापूर्वक अनुकरणीय जिम्मेवारी पूरा गर्ने व्यक्तिलाई प्रदेश गौरव पदक, संघीयता स्थापनाका लागि जीवन आहुती दिनेलाई प्रदेश विभूति पदक दिइने छ ।

त्यस्तै कृषि क्षेत्रमा र अनुकरणीय कार्य गरी उत्प्रेरक भूमिका खेल्ने किसानलाई प्रदेश किसान रत्न पदक प्रदान गरिने छ । विपद् उद्धार क्रममा अभूतपूर्व क्षमता प्रदर्शन गरी वीरता र साहसपूर्ण कार्य गरी उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई प्रदेश सुरवीर पदक, प्रदेशभित्रको पर्यटन क्षेत्रको बिषयमा विभिन्न योगदान, उल्लेखनीय योगदान गरेको व्यक्तिलाई पर्यटन शिखर पदक, सामाजिक सद्भाव छुवाछुत तथा सामाजिक विभेद अभियन्ता, सांस्कृतिक पहिचानका उल्लेख्य योगदान गरेका व्यक्तिलाई सामाजिक अभियन्ता पदकसहित नगद पुरस्कार समेत प्रदान गर्न सकिने र नगद पुरस्कारको राशी तथा नगद पुरस्कार सम्बन्धी अन्य व्यवस्था पछि तोकिने जनाइएको छ ।

प्रदेश सरकारले कसैलाई दिएको पदक रद्द समेत गर्न सक्ने छ । विधेयक अनुसार आफूले प्राप्त गरेको पदक कसैलाई बिक्री गरेमा वा बन्धकी राखेमा, पदकको मर्यादा विपरीत हुने गरी पदकको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा पदक रद्द गर्न सक्छ । यस्तै, प्रदेशको अपमान वा मानमर्दन गरेका, प्रचलित कानुन विपरीत राष्ट्रको मर्यादामा आघात हुने कुनै कार्य गरेको प्रमाणित भएमा पदक रद्द गर्न सक्ने व्यवस्था विधेयकमा राखिएको छ ।

यस्तै, पदक स्वेच्छाले पनि रद्द गर्न सक्ने व्यवस्था विधेयकमा राखिएको छ । कसैले फिर्ता गर्न चाहेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुझाउन सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here