निजगढ,कोरोना भाइरस प्रकोप न्युनीकरण तथा व्यवस्थापन समिति निजगढले शुक्रबार राति १२ बजेदेखि नगर क्षेत्रमा एक हप्ताको लागि पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिका कार्यालयमा बिहिबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन अवधिमा नगरमा औषधि पसल, दुग्ध संकलन, किसानको केरा ओसारपसार बाहेक सबै पसल, व्यवसाय र कार्यालयसमेत बन्द हुने निर्णय भएको छ । त्यसैगरी सर्वसाधारणलाई घरबाहिर हिडडुल गर्नसमेत रोक लगाउने निर्णण गरिएको छ । यसअघि गत हप्ता जिल्ला प्रशासन कार्यालय बाराले निर्णय गरेपछि निजगढका पसल तथा व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र संचालनमा आएका थिए । तर पछिल्लो समय निजगढ नगर क्षेत्रमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण बढने क्रम बढेपछि समितिले लकडाउनलाई थप कडा पार्ने निर्णय गरेको हो । नगरप्रमुख सुरेश खनालको अध्यक्षतामा भएको सो बैठकमा सशसस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक एकराज बुर्लाकोटी, इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक शंकरप्रसाद चौधरी, निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाल, स्थानीय जनप्रतिनिधि र नेपाल पत्रकार महासंघ बारा शाखाकी उपाध्यक्ष लक्ष्मी पाण्डे, सदस्य इन्दिप कोइराला, पत्रकार जितलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच निजगढ नगरपालिकामा बिहिबार थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गत आइतबार स्वाब संकलन गरिएका ५० मध्ये थप ३ जनाको रिपोर्ट पोजेटिभ आएको निजगढ नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख मणिश्वर घिमिरेले जानकारी दिनुभयो । यसअघि मंगलबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटकको पिसिआर रिपोर्टले निजगढमा कोरोनाको जोखिम बढेको स्वास्थ्य शाखा उपप्रमुख घिमिरेले बताउनुभयो । उहाँले समुदाय स्तरमा कोरोना फैलिएकोले स्वास्थ्य शाखाले अन्य शंकास्पद व्यक्तिहरुको पनि स्वब संकलन गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक टेसिडपछि सम्पर्कमा रहेकाहरुको आइतबारसम्ममा स्वाब संकलन गरेर परीक्षणको लागि कलैया पठाइने छ । योसंगै कोरोनाको नयाँ भेरियन्टको प्रकोप शुरु भएपछि निजगढमा संक्रमितको संख्या ४३ पुगेको छ । उनीहरु मध्ये १४ जना संक्रमणमुक्त बनेका छन भने अन्य संक्रमित होम आइसोलेशनमा बसेको स्वास्थ्य शाखा उपप्रमुख घिमिरेले जानकारी दिनुभयो ।