वीरगञ्ज,स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा भाग लिने प्रयोजनको लागि वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा ३४ वटा संगठनले दर्ता गराएका छन् ।त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार सोमवार बिहानदेखि संघ संगठन दर्ताको कार्यतालिका थियो । सोही कार्यतालिका बमोजिम मुख्य राजनीतिक दल निकट विभिन्न ३४ वटा विद्यार्थी संघठन तथा प्यानल र समूहलेनिर्वाचन प्रयोजनको लागि दर्ता गराएको स्ववियु निर्वाचन समितिका प्रमुख दिलीप सिंहले बताउनुभयो ।

उहाँका अनुसार निर्वाचन समितिले प्रकाशन गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि ३ बजेसम्म दल दर्ताको कार्य भएको थियो । अब यसपछाडि अन्य निर्वाचन प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।खासगरी मुख्य राजनीतिक दलका विद्यार्थी संगठनहरु नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी संगठन, समाजवादी युनियन, समाजवादी युनियन नेपाल, विद्यार्थी जनमत संघ, नयाँशक्ति विद्यार्थी युनियन, प्राज्ञिक विद्यार्थी परिषद्सहित संयुक्त संगठन, प्यानल तथा व्यक्तिका समूहसहितकाले दल दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

लामो समयपछि कलेजमा स्ववियु निर्वाचन भइरहेको धेरै दल चुनावप्रति आकर्षण बढेको जनाइएको छ । करिब १६ वर्ष पछाडि स्ववियु निर्वाचन भइरहेको ठाकुरराम बहुमुखी क्याम्पसले जनाएको छ ।०६५ सालपछि चुनाव रोकिएको ठाकुराम बहुमुखी क्याम्पसले जनाएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आगामी ५ चैतमा स्ववियु निर्वाचको मिति तोकेको छ ।

Leave a Reply