निजगढ,निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले व्यवस्था विरोधी र समर्थकहरुले एउटै मञ्चमा उभिएर आफ्ना कुरा राख्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभएको छ ।७४औं प्रजातन्त्र दिवसको दिन नगरपालिका कार्यालयले सोमवार नगरपालिका कार्यालयमा आयोजना गरिको कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले सो कुरा बताउनुभएको हो ।
‘राजतन्त्रमा विरोधीहरुलाई बोल्न पनि दिइदैनथ्यो, उहाँले भन्नुभयो, अहिले व्यवस्था समर्थक र विरोधीहरु पनि एउटै मन्चमा बसेर विरोध गर्न पाउछन ।’ उहाँले राणा शासन र राजतन्त्रको समयमा नागरिकहरुले आफ्ना विचारहरु स्वतन्त्रतापूर्वक राख्न नपाएको पनि बताउनुभयो ।निरंकुश शासनमा संचार माध्यमहरुमाथि अंकुश लगाइने गरेकाले देशमा हुने धेरै घटनाहरु बाहिर नआएको उहाँले बताउनुभयो । ‘त्यतिबेला पनि भ्रष्ट्राचार अनियमितताका ठूलाठुला काण्ड भएका थिए, नगर प्रमुख पुरीले भन्नुभयो, तर सत्ताको आडमा त्यस्ता सबै घटना गुपचुप पारिन्थ्यो ।’
लोकतन्त्र प्राप्त भएपछि देशमा संचार माध्यमहरुको पनि विकास भएको र सबैखाले घटना तुरुन्तै बाहिर आउँने गरेको बताउदै उहाँले निरंकुश शासनमा देखिएको शान्ति मूर्दा शान्तिमात्रै भएको बताउनुभयो । उहाँले अहिलेको व्यवस्थामा कमिकमजोरीहरु भए यसैभित्रबाट सुधार गरेर जानुपर्ने र लोकतन्त्रको विकल्प नभएको पनि बताउनुभयो ।
‘आजको लोकतन्त्रमा पनि समस्या र कमजोरी हुनसक्छन, उहाँले भन्नुभयो, यसलाई सच्याएर जानुपर्छ, तर लोकतन्त्र र प्रजातन्त्रको विकल्प छैन ।’
कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, कार्यपालिका सदस्य विक, नेकपा एमाले निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, राप्रपाका नगर अध्यक्ष खडगप्रसाद उप्रेती, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष भिमसेन सापकोटालगायतले प्रजातन्त्रको महत्व बारेमा बोलेका थिए । कार्यक्रममा जन निर्वाचित प्रतिनिधिहरु, सुरक्षाकर्मी र स्थानीय संचारकर्मीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन कार्यालयका योजना अधिकृत अजय उप्रेतीले गर्नुभएको थियो । कार्यक्रममा सहिदहरुको तस्वीरमा माल्यापर्ण समेत गरिएको थियो ।
















